माइतीघर फिल्म : जसको कार्यालय खोल्दा त्यो ठाउँको नाम फेरियो
के तपाईंलाई थाहा छ, वर्तमानमा काठमाण्डौमा रहेको माइतीघर भनिने ठाउँको नाम माइतीघर कसरी रहन गयो ?
तपाईंलाई सुन्दा अचम्म लाग्ला, पहिला यो ठाउँलाई थापाथली घुम्ती वा बबरमहल छिर्ने ठाउँ भनिन्थ्यो । त्यो बेला माइतीघर चलचित्रको कार्यालयत्यहाँ आयो र चलचित्रका केही दृश्यहरू त्यहीँ छायांकन गरियो । सबैलाई थाहा होस् भनेर त्यहाँ “माइतीघरको कार्यालय” भनेर बोर्ड लगाइयो । पछि यो नाम यति प्रचलित भयो कि यस ठाउँको नाम नै माइतीघर रहन गयो ।
आउनुस्, आज हामी यसै चलचित्र माइतीघर को बारेमा केही चर्चा गरौँ ।
२०२३ सालमा सुमनान्जली फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो चलचित्र निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र हो । छायांकनको हिसाबले आमा भन्दा पहिले नै यो चलचित्रको काम सुरु भए तापनि विभिन्न बाधाहरूका कारण रिलिजको हिसाबले यो दोस्रो बन्न पुग्यो भने आमा पहिलो । तर, यी दुई चलचित्रको रिलिजमा खासै लामो समयको अन्तर भने थिएन । पहिलो नेपाली चलचित्रको कुरा गर्ने हो भने चाहिँ सत्य हरिश्चन्द्र हो । तर, यसका कलाकार र प्राविधिक प्रायः सबै भारतीय भएकाले आमालाई नै पहिलो नेपाली चलचित्र मान्ने गरिन्छ ।
अब फर्किऔँ माइतीघर तिरै ।
यस चलचित्रका प्रमुख कलाकारहरूको कुरा गर्ने हो भने, त्यो बेला बलिउडमा तहल्का मच्चाइरहेकी माला सिन्हाले यसमा प्रमुख भूमिका निर्वाह गरेकी छिन् । त्यस्तै, अन्य कलाकारहरूमा सि. पी. लोहनी, यादव खरेल, सुनिता रेग्मी, प्रतिभा साम, बी. एस. थापा, नन्द किशोर तिमिल्सिना, के. बी. लामिछाने, प्रेमसिंह भण्डारी, केशब राणा आदि छन् । भने, चर्चित भारतीय कलाकारहरू सुनिल दत्त र राजेन्द्रनाथ विशेष भूमिकामा देखिएका छन् ।
भनिन्छ, यही चलचित्रबाट सि. पी. लोहनी र माला सिन्हाबीच प्रेमको अंकुरण भएको थियो, जुन कालान्तरमा विवाहमा परिणत भयो । यस चलचित्रको माध्यमबाट पुरानो नेपालको भौगोलिक स्थिति, विमान, विमानस्थल, कला, संस्कृति, न्यायालय, समाज लगायत चलचित्र निर्माणशैलीको अध्ययन गर्न सकिन्छ ।
दर्शकहरूले यस चलचित्रमा विदेशी शैलीको प्रभावलाई हटाएर हेर्ने हो भने यो अत्यन्तै ऐतिहासिक, अद्वितीय र अनुकरणीय चलचित्र बनेको छ भन्नेमा दुईमत नहोला ।
कथा
यो चलचित्रको कथा एकदम साधारण र सामान्य छ । कथाअनुसार, पोखराकी एक महिलालाई १५ वर्षको कारावासको सजाय हुन्छ । तर कारावासको समयावधि सकिए पनि उनी जेल छाडेर जान मान्दिनन् । त्यसपछि जेलरले एक जना मनोचिकित्सकलाई बोलाएर उनको समस्या बुझ्न लगाउँछन् । त्यसपछि ती महिलाले आफ्नो कथा सुनाउँछिन् । अनि चलचित्र फ्ल्यासब्याकमा जान्छ ।
पोखरा नजिकका पात्रहरू माया र मोहनको प्रेम बसेपछि विवाह हुन्छ । मोहन बेलायतमा पढेर फर्केपछि सिकार खेल्न जान्छन् । घरमा उनको जन्मदिन मनाइरहेको बेला तीव्र गतिमा जिप चलाएकाले रुखमा ठोकिएर दुर्घटना हुन्छ र मोहनको मृत्यु हुन्छ । यसको केही समयपछि मायाले घर र समाजको वचन सुन्न नसकेर आफ्नो नाबालक छोरालाई घरमै छोडेर हिँड्छिन् । यस बेला उनको पेटमा अर्को दुई महिनाको बच्चा पनि हुन्छ ।
यसरी हिँड्दै जाँदा उनी नेपालगन्ज पुग्छिन् । त्यहाँ उनलाई केही बदमाशहरूले हातपात गर्न खोज्छन् । भाग्ने क्रममा उनीएक वेश्यालयमा पुग्छिन् । त्यहाँ वेश्यालयकी मालिक्नीले उनलाई यौन व्यवसायमा लगाउन खोज्छिन् । उनले नमानेपछि नाच्ने र गाउने काममा लगाइन्छ । “मरता क्या न करता” भनेजस्तै, उनी बाध्य भएर नाच्ने-गाउने काम गर्न थाल्छिन् र यसरी १८ वर्ष बिताउँछिन् ।
यस बीचमा छोरालाई पढाइमा अदृश्य रूपमा आर्थिक सहयोग गर्छिन्, जो अस्कल कलेजमा पढ्छ । छोरीलाई त्रिचन्द्र कलेजमा गोप्य रूपमा पढाउँदै हुन्छिन् । एक दिन एक साहूले छोरीको इज्जत लिने धम्की दिएपछि माया गरे झैँ झुक्याएर विष खुवाएर त्यस साहूलाई मारिदिन्छिन् ।
त्यसपछि सर्वोच्च अदालतमा छोराले सरकारको तर्फबाट मुद्दा लड्दा उनलाई “वेश्या” भनेर सम्बोधन गर्छ । यसपछि उनले आफ्नो वास्तविकता उजागर गर्छिन् र छोरीलाई दाजुको जिम्मा लगाएर कारावासमा जान्छिन् । कारावासमा आफ्नो कथा सुनाउँदा-सुनाउँदै हृदयघातबाट उनको मृत्यु हुन्छ ।
निर्देशन
यो चलचित्रका निर्देशक बी. एस. थापा हुन् । निर्देशकको हिसाबले यो उनको पहिलो चलचित्र हो । उनले कथा, पटकथा र निर्देशनको जिम्मा लिएका छन् । एक निर्देशकको हिसाबले उनले यो चलचित्रमा अत्यन्त सुन्दर काम गरेका छन् । उनका पछिल्ला दुई चलचित्र कान्छी (शिव श्रेष्ठ, शर्मिला मल्ल) र मायाप्रीती (रविन्द्र खड्का, शर्मिला मल्ल, कृष्ण मल्ल) भन्दा माइतीघरको स्तर धेरै माथि छ ।
बी. एस. थापाले निर्देशन गरेको यो चलचित्रले विधवा मायालाई केन्द्रबिन्दुमा राखेको छ । उनले त्यो समयमा विधवाहरूले भोग्नुपरेको चुनौती र संघर्षलाई चलचित्रमा राम्रोसँग चित्रण गरेका छन् । चलचित्रले दुर्व्यवहारवादी समाजको स्पष्ट र इमान्दार चित्रण प्रदान गरेको छ, जसले कमजोर महिलाहरूलाई उत्पीडनबाट आनन्द लिन्छ ।
गीत/संगीत
करिब १५ वटा गीत समावेश गरिएको यस चलचित्रमा प्रसिद्ध भारतीय संगीतकार जयदेवले संगीत दिएका छन् । गीतहरू किरण खरेल, म. बि. बि.शाह (राजा महेन्द्र) आदिले लेखेका हुन् । गीतहरूलाई सि. पी. लोहनी, अरुणा लामा, भारतीय गायक मन्ना डे, भारतीय गायिका गीता दत्त, लतामंगेशकर, उषा मंगेशकर, आशा भोसले आदिले स्वर दिएका छन् ।
लता, आशा र उषा बहिनीहरूले एउटै चलचित्रमा स्वरबद्ध गरेको यो पहिलो र अन्तिम चलचित्र हो । यसका प्रसिद्ध गीतहरूमा “यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर,” “नमान लाज यसरी,” “म प्यार बेचिदिन्छु,” “कालो कुर्तैले,” “छ सलाम कसरी बोलाम” आदि पर्दछन् ।
हिन्दीमा रिमेक
चलचित्र माइतीघर को सफलताबाट हौसिएका थापाले १६ वर्षपछि लक्ष्मी नाम राखेर हिन्दीमा पनि निर्माण गरेका थिए । यसका मुख्य कलाकारहरूमारीना रोय, राज बब्बर (दोहोरो भूमिका), रञ्जीत, डेनी डेन्जोङ्पा, ओम शिवपुरी, नदीरा, विनोद मेहरा आदि थिए । यो चलचित्र व्यावसायिक रूपमा कमजोर रह्यो ।
समिक्षक तथा वरिष्ठ पत्रकारको भनाइ
समिक्षक तथा वरिष्ठ पत्रकार सामिप्य तिमिल्सिनाले भनेका छन्, “यो चलचित्रले आफैँमा एउटा इतिहास रचेको थियो । यसका हरेक पक्ष राम्रो छन् ।नेपाली चलचित्रको सुरुवातकै समयमा यो स्तरको चलचित्र बन्नु कुनै साधारण कुरा होइन । २०२३ मा बनेको यो चलचित्रले समावेश गरेका व्यावसायिक मूल्यका कुरालाई आजसम्म हामीले समात्न सकेका छैनौँ ।
यदि हामी सफल भएका भइदिएका भए, आज हामी कम्तीमा ४०/५० वर्षअघि पुग्ने थियौँ । यो हाम्रो सिक्ने क्षमताको कमीकै कारण भएको हो ।”
सिनेमा हलमा १५१ दिनभन्दा बढी समयसम्म प्रदर्शनमा आएको माइतीघर पहिलो सुपरहिट नेपाली चलचित्र हो ।
(लेखक नेपाली फिल्म क्षेत्रसँग सम्बद्ध हुनुहुन्छ ।)