Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्प दोस्रोपटक ‘टाइम वर्ष व्यक्ति’ घोषित

बिहीबार, मंसिर २७, २०८१

न्युयोर्क -अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् । ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए । 

टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले ‘ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि’ डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको जनाएका छन् ।

ट्रम्पले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, वेल्सकी राजकुमारी क्याथरीन, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, मेक्सिकन राष्ट्रपति, क्लाउडिया सेइनबाउम, अर्बपति इलन मस्क र पोडकास्टर जो रोगनलाई पछि पारेका हुन् ।

टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ । वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेका छन् । फ्रान्कलिन डी रुजवेल्टदेखि यताका जेराल्ड फोर्डबाहेक अन्य अमेरिकी राष्ट्रपति कम्तीमा एक पटक टाइम वर्ष व्यक्ति छनोट भएका छन् ।

वर्ष व्यक्तिको अन्तिम सूचीमा छनोट गरेसँगै सार्वजनिक गरेको विवरणमा टाइमले ट्रम्पले ‘एक आश्चर्यजनक राजनीतिक पुनरागमन गर्दै २०२४ को चुनाव जितेको’ उल्लेख गरेको थियो । ‘उनले अमेरिकी मतदातालाई पुनः आकार दिएका छन् । उनले युवा मतदाताहरूलाई सक्रिय पारेका छन् र हरेक स्विङ स्टेटलाई रेड स्टेटमा परिणत गरेका छन्, टाइमले भनेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्