Nic Ad Nic Ad
Nic Ad Nic Ad

२०२४ पनि पत्रकारका लागि दुखद बर्ष, ६८ जना कामकै शिलशिलामा मारिए

शुक्रबार, मंसिर २८, २०८१

काठमाडौं– बर्षान्त हुन लागेको सन् २०२४ पनि विश्व जगतमा पत्रकारका लागि दुखद बर्ष बनेको छ। कामको शिलशिलामा विभिन्न मुलुकका युद्धग्रस्त क्षेत्रलगायतमा ६८ जनाले ज्यान गुमाएको प्रतिवेदन सार्वजनिक भएको छ। 

संयुक्त राष्ट्र संघको शिक्षा, विज्ञान तथा साँस्कृतिक संगठन (युनेस्को)ले सन् २०२४ पत्रकार र मिडियाहरुका लागि निकै दुःखद वर्ष भएको जनाएको छ। २०२४ को हालसम्म ६८ पत्रकारहरुले कामकै क्रममा ज्यान गुमाउनु परेको छ।

पत्रकार र मिडियाकर्मीको हत्याको मामिला ६० प्रतिशत यस्तो देशमा भएको छ जहाँ युद्ध जारी छ। पछिल्लो एक दशकयता पत्रकारहरुको ज्यान गएको यो सबैभन्दा बढी हो। सन् २०२३ पनि पत्रकारहरुका लागि दुखद थियो। 

युनेस्कोकी महानिर्देशक आन्द्रे अजुले भनेकी छन्, ‘टकराव, युद्ध र संकटबाट प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्नु र विश्वसनीय जानकारी दिँदै जागरुक गराउन पत्रकारहरुको महत्वपूर्ण भूमिका छ। तर त्यही कामको सिलसिलामा पत्रकारहरु मारिनु निकै दुःखद छ। म सबै देशका सरकारलाई पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्दछु।’

युनेस्कोको रिपोर्टका अनुसार यस वर्ष युद्धग्रस्त क्षेत्रमामात्रै ४२ पत्रकार मारिएका छन्। प्यालेस्टाइनमा सबैभन्दा धेरै १८ जना पत्रकार मारिएका छन्। त्यसपछि युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानमा पनि पत्रकारहरु मारिएका छन्। यसबाट हिंसा र अस्थीर क्षेत्रमा जोखिम बढेको भनेर बुझ्नुपर्ने युनेस्कोले जनाएको छ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको चयनका दिन आएको यो रिपोर्ट आश्चर्यजनक र दुखद छ। यसमा महासंघले धारणा सार्वजनिक गरिसकेको छैन।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्