‘पुष्पा २’ स्टार अल्लु अर्जुन रिहा, एक रात हिरासतको बास
काठमाडौं– कम्तिमा १४ दिनसम्म हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले ‘पुष्पा २’ स्टार दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई रिहा गरेको छ।
शुक्रबार राती पक्राउ गरी एक रात हिरासतको बास गराएको प्रहरीले शनिबार बिहान उनलाई छाडेको हो।
बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी उनलाई लिन जेल पुगेका थिए। अल्लु करिब १८ घण्टा हिरासतमा रहे। रिलिजपछि अल्लु गीता आर्ट्स प्रोडक्सन हाउस पुगेको बताइएको छ।
यसपछि अल्लु हैदराबादस्थित आफ्नो घर पुगेको बताइन्छ। आमालाई अँगालो हालेर घरभित्र पसे। परिवारका सदस्यसँग भेट गरे। त्यसपछि उनले मिडियासँग कुरा गरेको भारतीय भिडियाहरुले जनाएका छन्।
उनीमाथि गत डिसेम्बर ४ मा हैदरावादमा भएको ‘पुष्प २’को प्रिमियरका क्रममा बिना जानकारी सन्ध्या थिएटरमा पुगेको आरोप छ। जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो। एक महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।
अल्लुले तेलंगाना उच्च अदालतमा अन्तरिम जमानतका लागि अपिल गरेका थिए। साँझ ५ बजे उनलाई ५० हजार भारुको व्यक्तिगत धरौटीमा अन्तरिम जमानत दिइएको थियो।
उनी अभिनित पुष्पा २ अहिले विश्वभर प्रदर्शनमा छ। उक्त फिल्मले आक्रामक ब्यापार मात्र गरेको छैन कतिपय रेकर्डहरू तोडिरहेको छ। फिल्मले नेपालमा पनि ब्यापक ब्यापार गरिरहेको छ।