७० को दशकको क्लासिक प्रेमकथा - 'रजनीगन्धा' (शनिबारको फिल्म सिफारिस)
मलाई भारतीय हिन्दी भाषाका चलचित्रहरू मध्ये सत्तरी र अस्सीका दशकका चलचित्रहरू विशेष रूपमा प्यारा लाग्छन् । ती बेलाका चलचित्रहरू साँच्चिकै मन छुने हुन्थे । ती चलचित्रहरू केवल दर्शकलाई ध्यानमा राखेर बनाइन्थ्यो । गीत–संगीतहरू मेलोडियस हुन्थे । अहिलेका पुस्तालाई त्योबेलाका चलचित्रहरू प्राय: थाहा नै छैन ।
यिनै पुस्ताले बिर्सेका चलचित्रहरू मध्ये सन् १९७४ मा रिलिज भएको चलचित्र "रजनीगन्धा" पनि एक हो ।
रजनीगन्धालाई बासु चट्टर्जीले निर्देशन गरेका थिए । बासुले आफ्नो जीवनकालमा हिन्दी र बंगाली गरी धेरै चलचित्रहरूको निर्देशन गरे । हिन्दी चलचित्रको कुरा गर्ने हो भने उनले सबैभन्दा पहिले बासु भट्टाचार्यलाई चलचित्र "तीसरा कौन" मा असिस्ट गरे । त्यसपछि उनले विभिन्न चलचित्रहरूजस्तै: एक रुका हुवा फैसला, कमला की मौत, चित्तचोर, पिया का घर, खट्टा मीठा, स्वामी, उस पार, छोटी सी बात, प्रियतमा, बातों बातों में, मनपसंद, शौकीन, हमारी बहू अल्का, चमेली की शादी, रजनीगन्धा आदि जस्ता धेरै चलचित्रहरूको निर्देशन गरे ।
सरसर्ती हेर्दा हिन्दी सिनेमाको लक्षित दर्शक पनि समयअनुसार परिवर्तन हुँदै गएको पाइन्छ । सत्तरी र अस्सीको दशकमा हिन्दी सिनेमा मध्यम वर्गतिर फर्केको देखिन्छ । रजनीगन्धा यस्तै एउटा चलचित्र हो । मसाला फिल्मभन्दा फरक, साधारण मध्यम वर्गीय केटीको प्रेमकथा यति गजबको थियो कि जताततै तारिफ भयो ।
बासु चट्टर्जीले मन्नु भण्डारीजस्ता साहित्यकारको कथा "यही सच है" मा आधारित पटकथालाई सुनमा परिणत गरे । कथा गजबको थियो र यसलाई फिल्ममा यस्तो उत्कृष्ट तरिकाले बुनिएको थियो कि यसमा सुधारको कुनै सम्भावना नै थिएन ।
कथा एक मध्यम वर्गीय केटी दीपा (विद्या सिन्हा) को बारेमा हो । फिल्मले दीपाको मनमा चलिरहेको प्रेम द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरेको छ । दीपा, सञ्जय (अमोल पालेकर) को प्रेममा छिन् । सञ्जय एकदमै मीठो र सरल मान्छे हो । दुवैले केही समयपछि बिहे गर्ने योजना पनि बनाएका छन् । यसैबीच, दीपा कामको अन्तर्वार्ताका लागि बम्बई जान्छिन्, जहाँ अचानक उनको पुरानो प्रेमी नवीन (दिनेश ठाकुर) लाई भेट्छिन् । दीपा नवीनको व्यवहार र शैलीबाट फेरि एकपटक प्रभावित हुन्छिन् । उनले महसुस गर्छिन् कि नवीन अझै पनि उनको लागि समय निकाल्छ, उनको हेरचाह गर्छ र उनको ध्यान दिन्छ । अर्कोतर्फ, सञ्जयले कुनै प्रेम देखाउँदैनन् । सञ्जयलाई प्रेमको अनुभूति गराउनुपर्छ भन्ने लाग्दैन ।
यस अवधिमा दीपाको मन कहिले नवीनतिर र कहिले सञ्जयतर्फ घुम्छ । उनी नवीनप्रति आकर्षित हुन्छिन्, यद्यपि नवीनले मुखबाट केही बोल्दैनन् कि दीपालाई आफू पनि दीपासँग जोडिन चाहन्छु भन्ने लाग्छ । बम्बईमा रहँदा दीपाको मनमा दुई प्रेमीलाई लिएर चलिरहेको द्वन्द्वलाई निकै राम्ररी देखाइएको छ ।
त्यसपछि दीपाले नवीनसँग विवाह गर्ने निर्णय गर्छिन् । बम्बईबाट फर्केपछि उनले नवीनलाई एउटा चिठ्ठी लेखेकी छिन्, जसमा उनको प्रेम व्यक्त गरिएको छ । उनी नवीनको चिठी पर्खिरहेकी छिन् । नवीनको चिठी पनि आउँछ, तर चार लाइनमा "काम पाएकोमा बधाई छ" भन्ने कुरा मात्रै लेखिएको हुन्छ । यो माया होइन, भ्रम थियो कि भनेर दीपा सोच्छिन् र निराशामा डुब्छिन् । तर त्यसपछि सञ्जय आइपुग्छ । ऊ धेरै खुसी देखिन्छ । उसले सुगन्धित रजनीगन्धाको फूल दीपालाई दिन्छ ।
जब उनी दिल्ली फर्किन्छिन् र सञ्जयलाई देख्छिन्, उनलाई थाहा हुन्छ कि उनले गल्ती गरिरहेकी छिन् । यो सञ्जय हो जसले उनलाई साँचो र गहिरो माया गर्छ । सञ्जयले नै उनलाई राम्ररी बुझ्न सक्छ । प्रेमको बन्धन चम्किलो प्रेम र स्वतन्त्र प्रेमभन्दा मीठो बन्धन हो । फिल्मभरि रजनीगन्धाको सुगन्धित फूलले दीपाको मनमा प्रेमको बदलिएको प्रकृतिलाई देखाउँछ ।
चलचित्रले रोमान्टिकवाद प्रेम देखाउने माध्यम हुन सक्छ, तर वास्तविक जीवनमा आर्थिक, भावनात्मक सुरक्षा र आपसी समझदारी नै प्रेमको वास्तविक आधार रहेको देखाएको छ । एउटै चलचित्रमा प्रेमका कति रूप समावेश गर्न सकिन्छ भन्ने उदाहरण हो मन्नु भण्डारीको यो कथा । प्रेमको द्वन्द्व, दुईप्रेमीबीचको तुलना, र कसलाई छनोट गर्ने भन्ने कुरामा प्रेमिकाले के देख्छिन् र के जाँच्छिन् भन्ने कुरा राम्ररी देखाइएको छ ।
"के हामी एकै समयमा दुईजनालाई माया गर्न सक्दैनौं?" ट्याक्सीमा नवीनको छेउमा बसेर जब दीपाले यो सोच्छिन्, उनी कत्ति पनि प्रेम अपराधी जस्तो लाग्दिनन् । वास्तवमा उनी जस्तै साधारण हृदयमा बस्ने लाखौं मानिसको प्रश्न दोहोर्याइरहेकी छिन् । प्रेममा प्रतिबद्धता राम्रो कुरा हो, तर दुईजना एकै समयमा राम्रो लाग्न सक्छन् । प्रेम भनेको त्यो सुप्त धारा हो, जसमा दुई इच्छाहरू एकैसाथ सुमधुर शैलीमा बग्छन् ।
फिल्मले सही प्रश्न उठाउँछ, र अन्त्यमा जवाफ पनि दिन्छ । के एकै समयमा दुईजनालाई माया गर्नु साँच्चै खराब र अनैतिक हो ? प्लेटोनिक प्रेमको अर्थ थाहा पाउनेहरूले तर्क गर्न सक्छन् कि शारीरिक प्रेममा दाग हुन सक्छ, तर मन त्यस्तो चीज हो, जहाँ दुई इच्छाहरू एकैसाथ हुन सक्छन् । सत्यको कुरा गर्दा, एकै समयमा दुईजनालाई माया गर्नु भनेको एकै समयमा दुई फूलको सौन्दर्य देख्नुजस्तै हो ।
कलाकारको कुरा गर्ने हो भने, यो विद्या सिन्हाको दोस्रो चलचित्र थियो (पहिलो "राजा काका" किरण कुमारसँग) र अमोल पालेकरको पहिलो हिन्दी फिल्म । तर उनीहरूको अभिनयमा कतै पनि नयाँपन झल्किएको छैन । मध्यम वर्गीय प्रेमिकाको मनमा रहेका द्वन्द्वहरू हटाउन बासु चट्टर्जीको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ ।
गीतको कुरा गर्ने हो भने, यस फिल्मका गीतहरू यति सुमधुर छन् कि आज पनि सबैले गुनगुनाउँछन् । "रजनीगन्धा फूल तुमहारे" र "कई बार यूँ भी देखाहै" जस्ता गीतहरू आज पनि लोकप्रिय छन् । यस चलचित्रका संगीतकार सलिल चौधरी हुन् भने गायक–गायिकाहरू मुकेश र लता मंगेशकर हुन् ।
सानो बजेट र नयाँ कलाकारहरू भएको कारण चलचित्रलाई कुनै वितरकहरूले सुरुमै किनेनन् । चलचित्र छ महिना डिब्बाबन्द रह्यो । पछि बासुचट्टर्जीको अनुरोधमा यो चलचित्र ताराचन्द बडजात्याले बडजात्या फिल्म्सका लागि किनेर रिलिज गरे । यसपछि चलचित्रले इतिहास रच्यो । यसले रजत जयन्ती मात्रै मनाएन, धेरै अवार्ड पनि जित्यो ।
के तपाईंले यो चलचित्र हेर्नुभयो?