म जहाँ गएँ, त्यहाँ जिन्दावादको नारा लागेको छ : प्रचण्ड
रुपन्देही - प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको दावी गरेका छन् ।
रुपन्देहीको तिलोत्तमामा आज (शनिबार) आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन ।
अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो समय जहाँ गएँ, त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन।
प्रतिक्रियावादी जालि झेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन् । हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं, भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्दिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइ सकेको छ। को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घिडा देखिएको भन्ने संकेत देखिएको छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले अगाडि भने, ‘जनताले मनमनै फैसला गरिसकेको छ । जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ ।’
माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्म ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनको दाबी छ ।
आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दूरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको समेत उनले दाबी गरेका छन ।
अध्यक्ष प्रचण्डले थपे, ‘म सरकारमा रहँदा भ्रष्टाचारीहरुलाई कारबाही अगाडि बढाए । धेरै राजनतिक नेताहरु, ठूला–ठूला कर्मचारी, भूमाफियाहरुलाई कारबाही गरी राज्यको सम्पति जनताको हातमा ल्याउने काम गरे ।
भ्रष्टाचारीहरुविरुद्धको कारबाही अगाडि बढाउँदा म प्रचण्ड नै अगाडि देखिए त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो ।
मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मिहनेत गरियो । त्यसैगरी विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो । अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो ।’
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशन समेत उनले दिएका छन ।
देशको निम्ति, उत्पीडित वर्ग समुदायको निम्ति, राष्ट्रको स्वाधिनता र एकताको रक्षाका निम्ति, संविधानको रक्षाको निम्ति, सबै उत्पीडित वर्ग समुदाय, किसान मजदुरको हक र हितको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउनु पर्छ भन्ने कुरा जनता र माओवादी केन्द्रसँग एकताको प्रक्रियामा आउने र आउँन चाहेका सबैमा पर्दै गएको उनले जनाए ।
अध्यक्ष प्रचण्डले भने, ‘म खुसी व्यक्त गर्न चाहन्छु हाम्रो पार्टीमा विभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने लहरले माओवादी केन्द्र बन्ने दिशामा छ भन्ने देखिएको छ । ठूलो बलिदानमार्फत देशमा सबै वर्गको हक अधिकार स्थापित गरेका छौं ।
जनताले पाएको अधिकार खोस्न खोजिएको छ हामी त्यसो हुन दिंदैनौं ।’ कार्यक्रमा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेता–कार्यकर्ताको ठूलो टिम माओवादी केन्द्रमा समाहित भएको थियो । साथै, कांग्रेस एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।