Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘नवीन योजनाका साथ पार्टी काममा जुट्न निर्देशन’

शनिबार, मंसिर २९, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ ढंगले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

एमाले लमजुङ-काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको विभिन्न पाँचवटा पालिका सम्पर्क मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले संगठन विस्तार तथा जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गरे ।

“तपाईँहरूले आजदेखि नै के अठोट गर्नुस् भने हाम्रा पालामा म केही न केही नयाँ काम गर्छु, अर्को पटक नेतृत्व लिने गरी काम गर्नुस्”, उपमहासचिव गुरुङले भने, “इमानदारितापूर्वक र गतिशील भएर काम गर्दा सफलता पाउन सकिन्छ, यतातर्फ ध्यान दिनुहोला ।” अध्ययनशीलता र लगनशीलताले व्यक्तिलाई सफलतातर्फ उन्मुख गराउने भन्दै उनले अध्ययनका क्रममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न पनि आग्रह गरे ।

उपमहासचिव गुरुङले पार्टी नेतृत्व र सरकार विरुद्धको घेराबन्दी तोड्ने गरी योजना बनाइनुपर्नेमा जोड दिँदै नेता जत्तिकै कार्यकर्ता पनि सक्रिय हुनुपर्ने बताए ।

उनले मुख्य जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले राजनीतिक सक्रियता अझ अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

आफ्नो पार्टीले केही समयअघि राजधानीमा आयोजना गरेको जनजागरण सभामा देखिएको सहभागितालाई लिएर सन्तुष्ट हुन नसकिने जनाउँदै उनले विभिन्न सांगठनिक जिम्मेवारीमा रहेकाले थप मेहनत गर्नुपर्ने बताए ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्