Nic Ad Nic Ad
Nic Ad Nic Ad
अपराध

बेलायतमा बास, नेपालमा गुन्डागर्दीः हाइप्रोफाइलसँग उठबस गर्ने विवादीत लक्ष्मी राई को हुन्?

आइतबार, मंसिर ३०, २०८१

काठमाडौं– काठमाडौंको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा भएको रड प्रहार प्रकरणको मुख्य योजनाकार भनिएकी लक्ष्मी राईले बेलायतमा बसेर नेपालमा गुन्डागर्दीमा हात हालेकी छन्। 

विवादीत राईका अनेक प्रकारका अस्वभाविक उठबस मात्र भेटिएका छैनन् दोहोरो नागरिकता र राहदानी प्रयोग गरेका तथ्य समेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केलाइरहेको छ।

ज्यान मार्ने उद्योग तथा संगठित अपराध कसुरमा पक्राउ पुर्जी जारी भएकी लक्ष्मी राईसँग नेपाल र बेलायतबाट जारी भएको नागरिकता र राहदानी छ। दुवै मुलुकबाट जारी भएको नागरिकता र राहदानी उनले हालसम्म पनि प्रयोग गर्दैै आएकी छिन्। 

उनको नेपाली राहदानी २८ फेब्रुअरी २०२४ मा जारी भएको देखिन्छ। जसको म्यादावधि २७ फेब्रुअरी २०२४ सम्म छ। भोजपुर जन्मस्थान उल्लेख भएको राहदानीमा उनको जन्ममिति ८ फेब्रुअरी १९७५ उल्लेख छ । राहदानी नम्बर ०७११३०३४ उल्लेख गरिएको छ भने नागरिकता नम्बर २२३७५–२०६०–०६१ लेखिएको छ । 

बेलायतबाट जारी भएको राहदानीमा जारी मिति २५ जुलाई २०१४ आइपिएस उल्लेख छ । राहदानीको म्यादावधि २५ जुलाई २०२४ छ । राहदानीमा उनलाई ब्रिटिस नागरिक भनिएको छ । राहदानी नम्बर भने ५१९१८२२० उल्लेख छ । यस विषयमा प्रतिक्रिया लिन नयाँ पत्रिकाले राईलाई गत २७ कात्तिकमै इमेल गरेको थियो । तर, उनले हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्।

गत ११ कात्तिकमा घरजग्गा व्यवसायी विक्रम लामामाथि पेसेवर गिरोहले सांघातिक आक्रमण गरेको थियो। टाउको, शरीर, हात र खुट्टामा गम्भीर चोट लागेका उनको चार दिनपछि मात्रै होस खुलेको थियो। प्रहरीका अनुसार बेलायतमा बस्दै आएकी लक्ष्मी राईको योजनामा मनांङेले लामामाथि सांघातिक हमला गर्न लगाएका थिए। जिल्ला अदालत काठमाडौंले लक्ष्मी राई र धादिङका रमेश सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

राईले पछिल्लो पटक सिलवालसँग बिहे गरेको भन्ने खुलेको छ। उनै सिलवालले नै आक्रमण गराउने योजनामा राईलाई साथ दिएको भन्ने समेत आरोप छ। 

त्यसो त राईको अस्वभाविक रुपमा गुन्डा नाइके र शक्ति केन्द्रका व्यक्तिसँग उठबस गरेको भन्ने पनि आरोप छ। हाल डिल्लीबजार कारागारमा रहेका गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसँग पनि उनको राम्रो चिनजान रहेको बताइन्छ। यहाँसम्मकी लामामाथिको आक्रमणमा राईले मनाङेको सहयोग लिएको पनि प्रहरीका प्रारम्भिक अनुसन्धानले देखाएको स्रोतले जनाएको छ।  

लक्ष्मी राईको आग्रहपछि मनाङेले हमला गर्न युवा परिचालन गरेको खुलेको हो। हाल बेलायतमा रहेकी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी भइरहेको छ भने दोहोरो नागरिकता र राहदानीको अनुसन्धान पनि सुरु भइसकेको छ। 

हमलाको योजना बनाउने, कार्यान्वयनका लागि जिम्मा लिने र कार्यान्वयन गर्न ‘फिल्ड’मा खटिने व्यक्ति फरक–फरक भूमिकामा बसेर हमला गराइएको हुँदा प्रहरीले घटनालाई ज्यान मार्ने उद्योगसहित संगठित अपराधअन्तर्गत अनुसन्धान गरिरहेको छ । हमला गर्ने उद्देश्यले राई–मनाङे र मनाङे–हमलाकर्ताबीच पटक–पटक टेलिफोन वार्ता भएको अनुसन्धानबाट खुलेको छ। 

घटनामा संलग्नमध्ये मार्सल भनिने शैलेन्द्र तामाङलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो भने निश्चल सुनारलाई पनि पछि पक्राउ गरेको थियो। दीपक ब्ह्रामू भने फरार थिए। 

नुवाकोट बेलकोटगढी नगरपालिका– २ का शैलेन्द्ररिुद्ध एक वर्षअघि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। उनी छाया सेन्टरस्थित प्लेब्वाई क्लबको पार्किङमा भएको सांघातिक हमलामा संलग्न थिए। 

त्यस्तै, अजय ठगी मुद्दामा ४० हजार जरिवानासहित तीन वर्ष ६ महिना जेल भुक्तान गरेर चार महिनाअघि मात्रै छुटेका थिए। उनले ९ पुस ०८० मा ठमेलमा बर्दीधारी प्रहरीमाथि ‘किक’ प्रहार गरेका थिए । घटनामा ड्युटी गरिरहेका प्रहरी जवान लोकबहादुर बुढाको टाउकोमा गम्भीर चोट लागेको थियो। उनीसहित तीनजनाविरुद्ध प्रहरीले त्यसवेला अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो। 

रड प्रहारका लागि योजनाकारले अजय, शैलेन्द्र, निश्चल र दीपकलाई ६० लाख रुपैयाँको सुपारी दिएको पीडित लामाको दाबी छ। घटनामा संलग्नमध्ये शैलेन्द्रले ‘६० लाखको सुपारी प्राप्त भएको’ भन्दै हत्याका निम्ति गाउँमा युवाको खोजी गरेको भन्ने पनि बताइन्छ। 

नुवाकोट ककनी गाउँपालिका– ६ का ३५ वर्षीय लामा नेपाल भूमि रियल इस्टेटका सञ्चालक हुन्। उनीमाथि रड प्रहार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

मुख्य योजनाकार भनिएकी लक्षमी राई सफल ‘इन्टरप्रेनर’को हवाला दिँदै ‘हाई प्रोफाइल’सँग फोटो खिच्दै हिँड्ने गर्थिन्। 

लक्ष्मी राई आफूलाई सफल गहना व्यवसायी र समाजसेवीका रूपमा चिनाउँछिन् । उनको बेलायत अल्डरसट भिक्टोरिया रोडमा ‘न्यु लक्ष्मी ज्वेलर्स’ नामको गहना पसल छ। 

१२ वर्षअघि उनले नुवाकोट ककनी गाउँपालिका– ६ का दीपेश लामाको सहकार्यमा गहना पसल खोलेकी थिइन्। पछि दुईबिच विवाह भएको थियो। दीपेशसँग ५ बर्षअघि नै उनको डिभोर्स भइसकेको छ। 

लक्ष्मी राईकोे उठबस हुन्डी र सुन तस्करीमा संलग्न जीवन चलाउनेसँग पनि रहेको खुलेको छ। 

उनले प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वपर्यटनमन्त्री सुदन किराँतीसँग पनि फोटो खिचेर हाइप्रोफाइलसहित शक्ति केन्द्रमा राम्रो सम्बन्ध रहेको भन्ने प्रचार पनि गरेकी छन्।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्