Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

नारा बहुदलीय जनवाद, शासन एकलवादः के एमालेभित्र ओलीको विकल्प भेटिँदैन?

आइतबार, मंसिर ३०, २०८१

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी महाधिवेशनमा पनि अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नहुने एउटा अन्तरवार्ताका क्रममा बताएका थिए। 

त्यसअघि एमालेको आन्तरिक कार्यक्रममा ओली स्वयंले पनि अर्को २० बर्षसम्म नेतृत्वमा आउने ‘कसैले नचिताए हुन्छ’ भनेका थिए। 

ओलीको स्वास्थ्यका कारण उनले कहिले एमालेको नेतृत्व हस्तान्तरण गर्छन् त्यो त थाहा छैन तर उनको आत्मबल र भनाईलाई विश्लेषण गर्दा उनी बाँचुञ्जेलसम्म अब एमालेको मुख्य नेतृत्वमा कायम रहने संकेत देखाएका छन्।

यसकारण पनि एमालेले विधानमा समेटेको ७० बर्षसम्मको उमेरहदको सीमारेखा हटाइसकेको छ। विधान सम्मेलन गरी बनाएको र महाधिवेशनले पारित गरेको उक्त सीमारेखा सचिवालय र स्थायी कमिटीको बैठकले हटाएको थियो। 

त्यसको कारण ‘एकीकृत समाजवादीबाट एमालेमा फर्किएर आउने नेताका लागि खुकुलो बनाएको’ भनिए पनि यसको मुख्य उद्देश्य ओलीलाई निरन्तर नेतृत्वमा कायम राख्ने भावनाबाट प्रेरित रहेको अड्कल काट्न सकिन्छ।

‘उपाध्यक्षले नै नेतृत्वको विकल्पमा आफू हुन्छु भन्ने सोच नराखेपछि स्पष्ट रुपमा बुझ्दा हुन्छ। उनीहरू ओलीको एकल शासन स्वीकार्न तयार छन्’, उच्च स्रोतले भन्यो,‘विकल्पमा नेतै नहुने भन्ने पनि कुनै तर्क रहन्छ र? एमाले र माओवादीमा के फरक भयो त?’

एमालेमा अहिले उसको विचारअनुसार बहुदलीय बहुलवादको विषय पनि गौण बनाइएको छ। किनभने ओलीको एकलवाद नै निर्णयका रुपमा देखाउने गरिएको छ। 

ओली यत्तिको प्रभावी बन्नुका पनि केही कारण छन्। उनले पार्टीका विविध पक्षमा उभिनेलाई समानान्तर राखेका छन्। कहिले काख र कहिले किनारामा राखेर ओली पार्टी हाँकिरहेका भेटिन्छन्। 

ओलीले एकल शासन चलाउनका लागि पार्टीमा हरेक पटक अलग–अलग समूहलाई मौका दिने गरेका छन्। पहिलो पटक प्रधानमन्त्री बन्दा युवा नेता महेश बस्नेतको रजगज रहेको सचिवालयमा दोस्रो पटक गोकुल बास्कोटालगायतको प्रभाव बलियो बन्यो। त्यसबेला बस्नेत किनारामा राखिए। अहिले प्रधानमन्त्री भएका बेला बास्कोटासमेत कर्नरमा परिसकेका छन् भने राजनीतिक सल्लाहकार रहेका विष्णु रिमालको एकल शासन शैलीले काम गरेको छ।

यद्यपि ओलीको समानान्तर रुपमा विकल्पको खोजी भने आन्तरिक रुपमा नभएको होइन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आउन सक्ने भन्नुलाई ओलीले किनारामा पारेका नेताको साथ रहेको भन्ने पनि बुझाई छ। 

खासगरी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बास्कोटालगायतका कतिपय नेता अहिले भण्डारीको कित्तामा उभिएको पनि चर्चा छ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्