१३ बुँदे घोषणापत्र जारी गर्दै सकियो उद्योग तथा वाणिज्य विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौँ- ललितपुरको गोदावरीमा जारी ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ आज समापन भएको छ । सम्मेलनले १३ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय एडीआर केन्द्रको आयोजनामा बिहीबार सुरु भएको सम्मेलन आइतबार समापन भएको हो । घोषणापत्रमा सिंगापुर कन्वेन्सनमा हस्ताक्षर र अनुमोदन गर्न, हिमाल संरक्षण र हरित मध्यस्थता प्रवर्द्धन गर्न सहयोग गर्न, न्यायमा पहुँच सुधार गर्न अनलाइन विवाद समाधान प्रणाली र प्रविधिको विकास गर्न, पर्वतीय क्षेत्रहरूको संरक्षणका लागि पहाडी राष्ट्रहरूको समूह गठन गर्न विशेष रूपमा आह्वान गरिएको छ ।
सप्ताहमा विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिएको थियो ।
‘विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा १७ देशका प्रतिनिधि सहभागी थिए । सम्मेलनको अन्तिम दिन जलवायु परिवर्तनको अवसरबारे विशेष सेशन चलेको थियो ।
सम्मेलनमा नेपालसहित जापान, स्विजरल्याण्ड, अस्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, यूके, न्यूजिल्याण्ड, चीन र अमेरिका गरी विश्वका १७ देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।