सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई यति ओभरमा जित्दा प्लेअफ पुग्छ काठमान्डु गुर्खाज
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफका लागि अहिले घमासान खेल भइरहेका छन्। तर, पुछारमा रहेका फ्रेन्चाइज भने अन्य टीमका खेलमा परनिर्भर छन्।
सोमबार पहिलो खेलको पहिलो इनिङ्स सकिँदा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सका निम्ति सस्तो टार्गेट दिएको छ। १०२ को टार्गेट दिएको कर्णालीले अहिले बलिङ गरिरहेको छ।
यसअघि नै प्लेअफका लागि जनकपुर बोल्ट्स, सुदूरपश्चि रोयल्स र चितवन राइनोज सुरक्षित भइसकेका छन्। आजको दोस्रो इनिङ्सको खेल महत्वपूर्ण मात्र छैन, रोचक पनि बनिरहेको छ। काठमान्डु गुर्खाजको भाग्य सुदूरपश्चिम रोयल्सको ब्याटिङमा निर्भर छ भने कर्णाली याक्सको भाग्य उसैको बलिङमा छ।
रनरेटको आधारमा हेर्ने हो भने कर्णाली याक्सको प्लेअफ पुग्ने सम्भावना बलियो भए पनि सुदूरपश्चिम रोयल्सले चमत्कार गरे काठमान्डु गुर्खाजको भाग्य चम्किनेवाला छ।
झिनो टार्गेट भएका कारण सम्भावना काठमान्डुको पनि छ। तर सुदूरपश्चिम रोयल्सले कम्तिमा १२.२ ओभरमा लक्ष्य हासिल गरे कर्णालीको दुर्भाग्य र काठमान्डुको सौभाग्य हुनेछ।
खेल दोस्रो इनिङ्समा चलिरहेको छ। अब कर्णालीले आफ्नो भाग्य आफैं तयार पारे प्लेअफ पुग्न सक्छ। गल्ती गरे काठमान्डुको भाग्य खुल्छ।