काठमाडौंका पूर्वमेयर पीएल सिंहलाई श्रद्धा सुमन गर्न पुगे मेयर बालेन शाह
काठमाडौं– पूर्वमेयर पीएल सिंहको पार्थिव शरिरमा श्रद्धा सुमन दिनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पुगेका छन्।
उनले पार्थिव शरिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली दिएका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्न लागिएको हो।
त्यसअघि बिहान ११ बजेसम्म ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।
पीएल सिंहको ८८ वर्षको उमेरमा सोमबार बिहानको राति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको थियो।
गणेशमान सिंहको सहयोगी रहेका पीएल एक इमानदार मेयरका रुपमा परिचित थिए। पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ। उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने छ।
अविवाहित सिंह २०४९ को स्थानीय निर्वाचनमा काठमाडौंका मेयर निर्वाचित भएका थिए। ०५२ सालमा उनको कार्यकालमा नै काठमाडौंलाई महानगरपालिका घोषणा गरिएको थियो।