रवि लामिछाने राजनीतिमा ‘कपि क्याट क्राइम’का प्रमुख पात्र किन हुन्?
साइबर बुलिङ गर्नेहरूले सत्तो श्राप गर्नेछन्। राजनीतिको अल्जेब्रा नबुझ्ने ठेट्नाहरूले पनि आलोचना हैन, गाली गर्नेछन्। यो जोखिमका बाबजुद टिप्पणीकर्ताले नेपथ्यको सत्यलाई पर्दापण गर्न आवश्यक छ।
ठगीको अभियोगपछि संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको अनुसन्धानपछि मुद्दा दायर हुन लागेका रास्वपा सभापति रवि लामिछानेको बिगत जे होस्, आगत के होला त्यो सरोकार भएन तर वर्तमानमा देखिएका घटनाक्रमको निचोडमा टिप्पणीकार भन्छन्– उनी राजनीतिमा कपि क्याट क्राइमका प्रमुख पात्र हुन्।
अब कपि क्याट क्राइम के हो? यो विशिष्ट विषयका बारेमा पहिला जानौं।
कपि क्याट क्राइम भनेको कुनै प्रसिद्ध अपराधको नक्कल गरेर नयाँ क्राइम गर्ने गतिविधि हो। यस्तो अपराध प्रायः चर्चित घटनाबाट प्रभावित भएर अपराधीले त्यसैको शैलीलाई अनुसरण गर्दै गरिन्छ। यसमा अपराधको प्रकार, उद्देश्य, र शैली मूल घटनासँग मिल्दोजुल्दो हुन्छ।
कपि क्याट क्राइमहरू सामान्यतया फिल्म, टेलिभिजन, पुस्तक, समाचार, वा पहिले भएका अपराधबाट प्रेरित हुन्छन्। अपराधीले यस्ता स्रोतलाई गहिरो रूपमा अध्ययन गरेर आफ्नो कार्ययोजना बनाउँछन्।
विश्वभर विभिन्न चर्चित घटनाहरूले कपि क्याट क्राइमलाई उत्प्रेरित गरेका छन्। उदाहरणका लागि, अमेरिकामा जोडियाक किलरको अपराध शैलीबाट प्रभावित केही अपराधीहरूले मिल्दोजुल्दो तरिकाले काम गरेका थिए।
कुनै अपराधलाई मिडियाले बारम्बार कभरेज गर्दा त्यसले कमजोर मानसिकता भएका व्यक्तिहरूलाई प्रभावित गर्न सक्छ।
मूल अपराधी जस्तै सफल हुने र पक्राउ नपर्ने भ्रम पनि यो प्रवृत्तिलाई प्रोत्साहित गर्छ।
केही कपि क्याट अपराधीहरूले आफूलाई प्रसिद्ध बनाउन यस प्रकारको शैलीको चयन गर्ने गर्छन्।
यस्ता अपराधले समाजमा त्रास र असुरक्षा बढाउँछ। प्रहरी र अनुसन्धानकर्ताहरूका लागि कपि क्याट अपराधीलाई पत्ता लगाउन गाह्रो हुन्छ किनभने अपराध शैली पहिलेको घटनासँग मेल खान्छ।
मिडियाको पहुँचले युवाहरूमा आपराधिक गतिविधिबारे रुचि बढाउन सक्ने जोखिम रहेको मानिन्छ।
अब मुख्य विषयमा प्रवेश गरौं।
नेपालका राजनीतिक दलका मुख्य नेता भ्रष्टाचारको अपराध, ठगीका संरक्षकका प्रतिमूर्ति मानिन्छन्। यो टिप्पणीकारले भनेको हैन, रवि लामिछानेले टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्दा ‘टुँडीखेलमा लगेर उभिएर नाकको डाँडीमा उल्टी किक हान्न मन भएको’ बेला भनेका थिए।
केही प्रश्न अवश्य छन्। तर, उनी कपी क्याट क्राइमका प्रमुख पात्र किन हुन्?
टिप्पणीकारको तर्क छ– चरम बेथिति भएको राजनीतिमा प्रवेश गर्नुअघि सहकारी ठगीको रकम अपचलन गरेको जानकारी थिएन अथवा अहिले आएर ‘मलाई थाहा छैन’ भन्ने भाष्य कुनै बाघले होइन, अपराध गर्ने बिरालोले नै भन्ने चिज हो।
रुपन्देहीको जिल्ला सरकारी वकिलको कार्यालयको एक तलाबाट बाघ खोरमा हुनासाथ स्याल बन्दैन भन्ने लामिछानेले बुझे हुन्छ– उनको राजनीतिको प्रवेश र यात्रा नै यहि अपराधको ढाकछोपाका लागि थियो।
दोषी या निर्दोष त्यो अदालतको विषय भयो। तर, संगती र सहकार्य गरेका मानिसका बारेमा जानकारी हुँदाहुँदै भ्रमको खेती गरेर साइबर बुलिङमार्फत मानिसलाई अचेत बनाउने काम नहोस्।
मुख्य दलका नेता र मन्त्रीले गरेका अपराध नजरअन्दाज गर्न सकिन्न। तर, नयाँ भनेर तिनैसँग कुम जोडेर अहिले बचाऊको याचना गर्नुको अर्थ के हो? दिनभरी सडकमा साँढे जसरी उफ्रिएर रातभरी बालुवाटारको छिडीँमा चिसो खाँदै रविको बचाऊका निम्ति किन पुग्छन् डीपी र सन्तोष परियारहरू?
यो प्रश्नकै उत्तर हो– कपी क्याट क्राइम।
यो भाषा भनेको अक्सर समाचारीय शैली शिल्पमा मात्र प्रयोग हुन्छ। तर, राजनीतिमा प्रयोगात्मक बनाउने काममा लागे लामिछाने। उनको यहि भाष्यमा राजनीतिमा विकल्प हुन्छ भन्ने आशा र भरोषाको आत्मदहन हुँदैछ। त्यसको उदाहरण स्थानीय तहको उपनिर्वाचनको परिणाम हो।
त्यसपछि माओवादी अध्यक्ष प्रचण्डको हुंकार पनि हो। यसैले अदालतले के गर्छ त्यो हेरौंला सहकारीको रकमका स्रोतबारे पनि बुझौंला। तर, पुराना दल र नेताले कायम गरेको भाष्यको निरन्तरतामा लामिछानेले आफ्नो लोकप्रियतालाई राजनीतिमा लगेर ठगीको ढाकछोप गर्नु भनेको लोकहत्या हो। यस्तो प्रवृत्ति ठूला दल भनिनेका निरन्तरताको निरन्तरता हो, क्रमभंग होइन।
यसर्थ, यस्तो प्रवृत्तिका प्रमुख पात्र लामिछाने देखिए। हैन भने वैकल्पिक राजनीतिको स्थापना गर्ने उज्वल थापाहरूले उज्यालो नदेख्दै आर्यघाट देख्ने थिएनन् होला। उज्यालोमा अँध्यारो बनाएर मानिसलाई भ्रमभित्र लपेट्ने लामिछाने प्रवृत्ति सुखद होइन, हुने छैन।