Nic Ad Nic Ad
Nic Ad Nic Ad
खेलले देखाएको उत्साह

काठमाडौंबाट सुदूर टाढा रहेको टीमका उत्साही समर्थकहरूको जोश अनि एकतासँग भरिएको एनपीएल

सोमबार, पुस १, २०८१

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अहिले काठमाडौँमा चलिरहेको छ। 

त्रिभुवन विश्वविद्यालय मैदानमा भइरहेको यो प्रतियोगितामा काठमाडौँ गुर्खाजका समर्थकहरुले मैदानलाई भरिभराउ बनाउनु पर्ने हो, तर दुर्भाग्यवश त्यसो भएको छैन। 

काठमाडौँबाट सबैभन्दा टाढा रहेका सुदूरपश्चिमलाई  प्रतिनिधित्व गर्ने सुदूरपश्चिम रोयाल्सका समर्थकहरु भने एनपीएलको माहोलमा निकै व्यापक र जोशिला देखिन्छन्। 

काठमाडौँमा रहेका सुदूरपश्चिमका समर्थकहरुले मैदानमा पुरै एकता र उत्साहको साथ आफ्नो टिमलाई समर्थन गरिरहेका छन्।

सुदूरपश्चिम रोयाल्सको खेलको समयमा त्रिवि मैदान पुरै पहेलो रंगमा रंगिन्छ। सुदूरपश्चिमका समर्थकहरूले आफ्नो टिमको जर्सी लगाएर मैदानमा हर्षोल्लासको वातावरण सिर्जना गर्छन्। 

यो दृश्य काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयाल्स बिचको खेलको समयमा अझ बढी स्पष्ट देखिन्छ। सुदूरपश्चिमका समर्थकहरुको ठूलो उपस्थिती सन्देश दिन्छ कि, सुदूरपश्चिम रोयाल्सको माहोल काठमाडौँमा पनि अन्य टिमहरुको तुलनामा धेरै छ।

मैदान बाहिर जर्सी बेच्ने एक युवा व्यवसायी भन्छन्, ‘मैले अहिलेसम्म धेरै सुदूरपश्चिमको जर्सी बेचेको छु। यहाँ आउने प्रायः सबै जना सुदूरपश्चिमको जर्सी चाहन्छन्। यो क्रेज मैले पहिले सोचेको थिइन । दिनमा सबैभन्दा धेरै सुदूरपश्चिमकै जर्सी बढी बिक्छ।’

यसबाट पनि के प्रस्ट हुन्छ बणै सुदूरपश्चिमका समर्थकहरूको संख्या र क्रेज एनपीएलमा धेरै बढेको छ।

सुदूरपश्चिमका समर्थक काठमाडौँबाट मात्र होइन, सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पनि काठमाडौँमा टिमको समर्थन गर्न आइरहेका छन्। डोटीबाट आएका सुजन बमले भने, ‘मैले रातभरको गाडी चढेर सुदूरपश्चिमको खेल हेर्न काठमाडौँ आएको छु। अब प्लेअफका सबै खेल हेरेर मात्र घर फर्किनेछु। मलाई विशेषगरी दीपेन्द्र सिंहको खेल मनपर्छ।’

सुदूरपश्चिमका समर्थकहरू मात्र मैदानमा उपस्थित हुने गर्दैनन्, उनीहरूले आफ्नो सांस्कृतिक मौलिकता पनि प्रस्तुत गर्दै सुदूरपश्चिम रोयाल्सलाई समर्थन जनाउँछन्। 

गीत गाएर, देउडा नाचेर र अन्य सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेर उनीहरूले मैदानमा उत्साहको वातावरण सिर्जना गरिरहेका छन्। 

सुदूरपश्चिमको प्रत्येक खेलमा त्रिवि मैदान भरिभराउ हुने गर्छ। यहाँसम्म कि, बच्चा देखि लिएर युवा र जेष्ठ नागरिक सम्म सबै उमेरका मानिसहरु आफ्नो टिमलाई समर्थन गर्न मैदानमा आइरहेका छन्। केही विद्यार्थीहरूले त आफ्नो पढाइ छोडेर खेल हेर्न आइपुगेका छन्।

अरु टिमका समर्थकहरू भन्दा सुदूरपश्चिमका समर्थकहरू निकै रोचक र एकिकृत देखिन्छन्। 

उनीहरूको समर्थन र उत्साहले एनपीएलको माहोललाई अझ रंगीन र जोशिलो बनाएको छ। यसले सुदूरपश्चिमका फ्यानहरूको एकता र समर्पणलाई प्रमाणित गर्दछ। सुदूरपश्चिमका फ्यानहरूको बीचमा एउटा विशेष प्रकारको एकता र सामूहिक भावना पाइन्छ। मैदानमा उपस्थित हुँदा उनीहरू एक परिवारको जस्तो व्यवहार गर्छन्।

सुदूरपश्चिम रोयाल्सका फ्यानहरूको निरन्तर समर्थन र उत्साहले यो प्रतियोगिता अझ राम्रो र व्यापक बनाएको छ।

एनपीएलमा सुदूरपश्चिम समर्थकको योगदान एकदमै महत्त्वपूर्ण रहेको छ र यसको फाइदा सुदूरपश्चिम रोयाल्स टिमले पनि उठाइरहेको छ। 

सुदूरपश्चिम रोयाल्स अंक तालिकाको शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ। प्रतियोगितामा भएको ७ खेलमा सुदूरपश्चिमले १ खेलमा मात्र पराजय भोकेको छ। 

सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, डोटी, दार्चुला, बाजुरा, बझाङ, अछामलगायतका जिल्लाहरुको प्रतिनिधित्व गर्छ। यी सबै जिल्लाहरुबाट सुदूरपश्चिमलाई समर्थन गर्न समर्थकहरुको उल्लेखनीय उपस्थिती रहेको छ।
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्