रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
काठमाडौँ - सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराएको छ ।
यसअघि सातौँपटक मंसिर १७ गते थपिएको थप ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँ पटक म्याद थपको अनुमति लिन जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । यस हिसाबले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पहिलो व्यक्तिबाट हिसाब गर्दा अब रविलाई हिरासतमा राख्न बाँकी म्याद ४ दिन मात्र छ । सोही कारण आज थपिने म्याद अन्तिम हुनेछ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।