रवि लामिछाने पत्नी निकिताले भनिन्– मिडियाले ममाथि ‘पुरुषार्थ’ देखाए
काठमाडौं– सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गरिएका रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले यस प्रकरणबारे पहिलो पटक मुख खोलेकी छन्।
मंगलबार सामाजिक सञ्जालमा एउटा लामो स्ट्याटस लेख्दै उनले मिडियाले आफूमाथि पुरुषार्थ देखाएको बताएकी छन्।
‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न’, निकिताले लेखेकी छन्,‘मैले पनि हाँस्दै भने, ’त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’
बुवा–छोरीको कुराकानीको सन्दर्भ अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’को रहेको उनले लेखेकी छन्।
‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र?’ उनले लेखेकी छन्,‘आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ।’
पौडेल अगाडि लेख्छिन्,‘खाता मेरो हो। यति–उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’
श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको र पर्खिएको उनको भनाई छ।