Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंक खातामा अस्वभाविक कारोबारको समाचार सहतमा आएपछि निकिताले ‘पुरुषार्थ’को कार्ड खेल्नुको अर्थ

मंगलबार, पुस २, २०८१

काठमाडौं– सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान सकी राय प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीमा पुगेका बेला सतहमा रवि लामिछाने र निकिता पौडेलको खातामा अस्वभाविक कारोबार भएको विवरण सतहमा आयो। 

यो खबरका कारण रवि र निकिताविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक धारणा र टिप्पणी हुन थालेपछि निकिता पौडेलले पहिलो पटक प्रतिक्रियासहित आफूलाई अन्यायमा पारिएको नयाँ तुरुप फ्याँकेकी छन्। 

फेसबुकमार्फत उनको धारणा सार्वजनिक भएको थियो। निकिताको धारणाअघि बैंक खाताहरुमा कारोबार भएको विषयको खबर यस्तो छ। 
०००
रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा ‘अस्वाभाविक कारोबार’ भएको प्रहरीको दाबी छ । दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट सन् २०१६ यता २९ करोडको कारोबार भएको छ। 

रविका ३, निकिताका १३ र एक संयुक्त बैंक खाता जाँच गर्दा यो अवधिमा २८ करोड ९१ लाख जम्मा गरिएको र २९ करोड ७ लाख झिकिएको विवरण अनुसन्धान प्रतिवेदनमा छ। सबैभन्दा धेरै कारोबार लामिछानेका नाममा ग्लोबल आईएमई बैंकमा रहेको बैंक खाताबाट गरिएको छ। उक्त ३०–७०१०००–––३ नम्बरको खातामा सन् २०१६ डिसेम्बर ११ देखि २०२४ अक्टोबर १६ सम्म ८ करोड २६ लाख जम्मा गरिएको छ भने लगभग सबै रकम झिकिएको छ। त्यस्तै, लामिछाने र पौडेलका नाममा नेपाल बैंकमा रहेको ०६–४००१०––– –––०००–०१ नम्बरको संयुक्त खातामा ४ करोड १३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ।

निकिताको सिद्धार्थ बैंकमा रहेको ०२–४१५–––––१ नम्बरको खातामा चार वर्षमा ६ करोड ५७ लाख कारोबार भएको छ। यो कारोबार २०१८ सेप्टेम्बर १३ देखि २०२२ सेप्टेम्बर १ सम्मको हो। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा निकिताका नाममा एउटा डलर खातासहित कुल तीन खाता रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। खाता नम्बर १०–१०१ ––– –––१ मा सन् २०१६ सेप्टेम्बर २६ देखि २०२४ जुलाई १५ सम्म तीन करोड ७७ लाखको कारोबार भएको छ।

त्यस्तै, सोही बैंकको अर्को खाता २०–––३९०–––१–४९ मा २०२३ मे १४ देखि २०२४ नोभेम्बर २५ सम्म १ करोड ५ लाखको कारोबार भएको छ। उनकै ग्लोबल आईएमईको खाता नम्बर १३–५० –––००–––२६ मा २ करोड २९ लाख र नेपाल बैंक लिमिटेडको खातामा २ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ। यति ठूलो कारोबार भए पनि पछिल्लो समय उनीहरूका सबै खातामा गरेर कुल ७ लाख ७४ हजार रुपैयाँ मात्र मौज्दात राखिएको छ।
(कान्तिपुरमा प्रकाशित समाचार) 
०००
यो खबर बिहानभरी फेसबुकमा भाइरल भइसकेको थियो। यसपछि निकिताले आफूविरुद्ध मिडिया ट्रायल मात्र भएको बताइनन्। मिडियाले पूर्वाग्रही भएर ‘पुरुषार्थ’ देखाएको पनि आरोप लगाइन्। 

यस्तो छ निकिताको भनाई।
०००
सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गरिएका रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले यस प्रकरणबारे पहिलो पटक मुख खोलेकी छन्। 

मंगलबार सामाजिक सञ्जालमा एउटा लामो स्ट्याटस लेख्दै उनले मिडियाले आफूमाथि पुरुषार्थ देखाएको बताएकी छन्। 

‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति? अलिकति मलाई पनि देऊ न’, निकिताले लेखेकी छन्,‘मैले पनि हाँस्दै भने, ’त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’

बुवा–छोरीको कुराकानीको सन्दर्भ अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’को रहेको उनले लेखेकी छन्। 

‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र?’ उनले लेखेकी छन्,‘आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ।’

पौडेल अगाडि लेख्छिन्,‘खाता मेरो हो। यति–उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु।’

श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको र पर्खिएको उनको भनाई छ।
(निकिताको फेसबुक स्ट्याटस)
०००
अनुसन्धान सकिएको र प्रतिवेदन अध्ययन गरी अभियोजन दर्ता गराउने बेला आएका समाचार र निकिताले खेलेको नयाँ तर्कको कार्ड दुवै गलत भएको कानुनका जानकारहरू बताउँछन्। यहि बेला गृहमन्त्री रमेश लेखकले भनेका छन्,‘सत्ता भिडले होइन कानुनले चल्छ।’

यद्यपि निरन्तर राजनीतिक प्रतिशोध साँधिएको भनेर रास्वपाको पूरै शक्ति सडकमा निरन्तर देखिनु र अन्तिम समयमा आएर निकिताले मुख खोल्नुले अभियोजनमा प्रभाव पर्न सक्ने आँकलन गरिन्छ। सरकारी वकिलको कार्यालयले कस्तो अभियोजना बनाउनेछ र अदालतले थुनछेक बहसका क्रममा कस्तो आदेश दिनेछ त्योचाहिँ पर्खाइको विषय बनेको छ।
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्