शुक्रबारभित्र अभियोजन दर्ता, लामिछानेलाई अन्तिम पटक म्याद थपिँदा कात्तिक २ देखिका गतिविधि
काठमाडौं– जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई अन्तिम पटक म्याद थप गरी थुनामा राख्ने अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ४ दिन म्याद थप माग गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयमा सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको अनुसन्धान सकी रविलगायत ५१ जनाविरुद्धको राय प्रतिवेदन बुझाइसकिएको छ।
मंगलबार अन्तिम पटक म्याद थपेपछि अब शुक्रबारभित्र अदालतमा अभियोजन दर्ता हुनेछ।
शुक्रबार लामिछानेलाई पक्राउ गरिएको २ महिना ४ दिन र पूर्वडीआईजी छविलाल जोशी बन्जाडेलाई पक्राउ गरेको ३ महिना पूरा हुनेछ।
लामिछानेलाई रास्वपा मुख्यालय बनस्थलीबाट कात्तिक २ गते पक्राउ गरी कास्की लगिएको थियो। त्यसयता उनीविरुद्ध ८ पटक म्याद थप भइसकेका छन्।
कात्तिक २मा काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा चलान गरिएका लामिछानेविरुद्ध कात्तिक ४ गते पहिलो पटक म्याद थपिएको थियो। ६ दिन उनको म्याद थपि अनुसन्धान जारी राखियो। कात्तिक ८ मा कास्कीमै दोस्रो पटक सात दिन म्याद थप भएको थियो।
कात्तिक २० गते कास्कीमै तेस्रो पटक १० दिन म्याद थप गरियो भने कात्तिक २५ गते कास्कीमै चौथो पटक १३ दिन म्याद थप भएको थियो।
कात्तिक २५ गते अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान गराइएको थियो। यसपछि मङ्सिर ९ गते कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप भएको थियो।
मङ्सिर १३ गते अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याएर बयान गरियो भने मङ्सिर १८ मा अनुसन्धानका लागि चितवन लगेर बयान गराइएको थियो।
मङ्सिर २३मा कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप गरियो भने मङ्सिर २४मा अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो।
मङ्सिर २५ मा पर्सामा बयान गरी काठमाडौं हुँदै पोखरा अर्को दिन मंसिर २६ मा लगिएको थियो।
मङ्सिर २७ मा पाँच दिनका लागि कास्कीमा सातौँपटक म्याद थप भयो भने पुस १ मा प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको थियो।