भानु आटुमा ७.३ म्याग्निच्युडको भूकम्प
काठमाडौँ- प्रशान्त महासागरको टापु देश भानुआटुमा मंगलबार बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
नेपाली समय अनुसार आज बिहान साढे ७ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो ।
भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो । यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ ।
भूकम्प र परकम्पका कारण घरहरू भत्किएका, बिजुलीका पोल ढलेका, गाडीहरूमा क्षति पुगेको भिडियोहरू सार्वजनिक भइरहेका छन् । बेलायत, फ्रान्स र न्यूजील्याण्डका दूतावासहरू रहेको एउटा ठूलो भवन पनि भत्किएको देखिन्छ । भूकम्प लगत्तै सरकारी वेबसाइटहरू पनि डाउन भएका थिए ।
पोर्टभिलामा रहेका एक पत्रकार डेन म्याकगेरीले बीबीसीसँग भनेका छन्, ‘धेरै मानिसहरू भुईँमा लडिरहेका र उनीहरू गम्भीर घाइते अवस्थामा रहेको देखेको छु ।’ घाइतेहरूलाई उद्धार गर्दै अस्पताल लैजाने काम जारी छ ।