सिलिगुडी-चारआली र अमलेखन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्ने सहमती
काठमाडौँ - दुई पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्ने गरी काम गर्ने नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको ‘स्टेरिङ कमिटी’ बैठकमा सहमति भएको छ । मंगलबार सोल्टी होटलमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकापसमा आदानप्रदान गरी तोकिएकै समयभित्रै सक्ने सहमति गरेको छ ।
पाइपलाइन र स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माणको क्रममा कुनै समस्या आए तत्काल समाधान गरेर समाधानको बाटो देखाउने पनि सहमति भएको छ ।
बैठकमा निगमका तर्फबाट नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत, नायब कार्यकारी निर्देशक दीपक बराल, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग निर्देशक विनितमणि उपाध्यायलगायत सहभागी थिए । आईओसीका तर्फबाट नेपालको कन्ट्री म्यानेजर निरुपम रायजादासहित अनिरुद्ध थाटे, प्रबिनकुमार सहभागी थिए । बैठकले पाइपलाइन प्रोजेक्ट निर्माणको क्रममा चाहिने वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (इआईए) प्रतिवेदनका बारेमा पनि छलफल भएको छ ।
दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतसँग १५ अर्बका दुई वटा पाइपलाइन र एउटा स्मार्ट ग्रीनफिल्ड टर्मिनल बनाउने सम्झौता भइसकेको छ । यी परियोजना भारतले अनुदानमै बनाइदिने गरी सम्झौता भइसकेको छ । भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बनाइदिने जनाएको छ । झापाकै चारआलीमा १८,९०० किलोलिटर क्षमताको स्माट ग्रीनफिल्ड टर्मिनल पनि बनाइदिने सम्झौता भएको छ । झापामा निगमको करिब २३ बिघा जग्गा छ । पाइपलाइन बनेसँगै त्यहाँ पेट्रोल र डिजेल भण्डारण गरिनेछ ।
त्यस्तै, नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि बनाउने सम्झौता भएको छ । अमलेखगन्जबाट चितवनको लोथरसम्म बन्ने पाइपलाइन पनि भारतले अनुदानमै बनाइदिने छ । यी तीन परियोजनाको लागत करिब १५ अर्ब लाग्ने अनुमान छ । स्टेरिङ कमिटीको यो दोस्रो बैठक हो । पहिलो बैठक २०२४ अक्टोबर १४ अक्टोबरमा अनलाइनमार्फत भएको थियो ।