ओली–प्रचण्डलाई मार्सीको भात खुवाएर चर्चा कमाएका दुर्गा प्रसाईं आपराधिक लाभको मुद्दासम्म कसरी पुगे?
काठमाडौं– भारतका गुन्डा नाइके लरेन्स विश्नोईको मानिस रहेको भनी विभिन्न व्यापारी र व्यावसायीलाई भारतीय नम्बरबाट धम्की दिन लगाउने काममा विवादीत व्यावसायी दुर्गा प्रसार्ईको संलग्नता भेटिएपछि अहिले अनुसन्धानका क्रममा छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीबारे अभद्र भाषण गरेको र गलत प्रचार गरेपछि साइबर ब्युरोले पक्राउ गरिएका उनी धरौटीमा छुटे पनि हरिचन्द्र फुयाँलको बयानका आधारमा प्रसाईं आपराधिक लाभमा पनि संलग्न रहेको प्रमाण फेला परेपछि अनुसन्धानका क्रममा तानिएका थिए।
प्रसाईं सामाजिक सञ्जालमा पछिल्लो चरणमा ‘हेट स्पिच’ दिएका कारण चर्चामा थिए। यसअघि ज्वाला संग्रौलाको उजुरीका आधारमा पनि साइबर ब्युरोले उनलाई पक्राउ गरिसकेको थियो। साधारण तारेखमा रिहा भएका थिए। तर पपछिल्लो पटक भने ४० हजार धरौटीमा रिहा भए पनि अर्को मुद्दाको अनुसन्धानका क्रममा छन्।
प्रसाईंको उदय ह्वात्तै भयो र उनी अहिले आपराधिक गतिविधिसम्म तानिए। उनको खास चर्चाचाहिँ प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घरमा बोलाएर मार्सी चामलको भात चरेसको थालमा खुवाएपछि भएको थियो।
त्यसबेला उनको आलोचना भएको थियो। उनको मात्र नभएर ओली र प्रचण्डले अमुक विवादीत व्यावसायीको घरमा खाना खान गएर सहमति गर्नु अनुचित भएको टिप्पणी गरिएका थिए।
‘उनी माओवादी पृष्ठभूमीका हुन्। प्रचण्डसँग नजिक थिए। पछि स्वार्थका निम्ति ओलीसँग पनि जोडिए’, प्रसाईंका नजिकका एक जना भन्छन्,‘अस्थिर स्वभाव र छुच्चो बोली भएका उनले राजसंस्थाको प्रचार गरी पछिल्लो समय अभियान चलाएको घोषणा गरेका थिए।’
प्रसाईंका मुख्य विवादचाहिँ अनशनकर्ता डाक्टर गोविन्द केसीको बिरोध र आलोचना गर्नु, दुबईका शेखले सुनको लाठी उपहार दिएको, दुबईबाट मानिस उद्धार गरेको भन्ने गलत प्रचारबाजी, मार्सी बियर उत्पादन, माओवादी परित्याग, एमाले प्रवेश अनि युवा संघ नेता महेश बस्नेतको निजी मामिलालाई उछाल्नेलगायत हुन्।
‘व्यावसायी जस्तो मानिसले यसरी आपराधिक कामसम्म गराएका विवरण आउनु राम्रो होइन। राजनीतिमा स्थिरताका साथ धैर्य गर्न नसक्ने र फोहोरी शैलीमा उत्रिनु गलत थियो’, उनका निकटस्थहरू भन्छन्,‘त्यसैको परिणाममा अहिले उनी कानुनी दायरामा पनि तानिएका छन्।’
उनको मुख्य व्यावसायीक योगदानहरूमा बी एण्ड सी मेडिकल कलेज र अस्पतालको स्थापना समावेश छ, जुन झापाको बिर्तामोडमा अवस्थित छ। उनको उदय व्यावसायीक र राजनीतिक क्षेत्रमा एकसाथ देखिएको छ, जसले गर्दा उनी बारम्बार विवादको केन्द्रमा रहँदै आएका छन्।
प्रसाईको प्रारम्भिक जीवन झापा जिल्लामा सामान्य कृषक परिवारमा भएको थियो। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका उनले व्यापारिक क्षेत्र र पछि चिकित्सा क्षेत्रमा पाइला चाले। व्यावसायीक यात्राको क्रममा उनले बी एण्ड सी मेडिकल कलेज स्थापना गरेर आफूलाई चिकित्सा व्यवसायमा एक सफल उद्यमीको रूपमा चिनाए।
उनको बी एण्ड सी मेडिकल कलेजले छोटो समयमा नै ख्याति कमायो। यो कलेजले उच्चस्तरीय स्वास्थ्य सेवा र मेडिकल शिक्षा प्रदान गर्न थालेपछि, दुर्गा प्रसाईको नाम चिकित्सा क्षेत्रमा फैलियो। उनले नेपालको चिकित्सा क्षेत्रलाई समृद्ध बनाउने उद्देश्यले लगानी र योजना प्रस्तुत गरेको मानिन्छ।
‘स्वास्थ्य क्षेत्रमा योगदान दिने विषय साह्रनिय हो। तर अति महत्वकांक्षी भएर राजनीति नै हाँक्छु, व्यवस्था नै परिवर्तन गर्छु भनेर आपराधिक शैलीमा पनि प्रवेश गर्नु राम्रो थिएन’, प्रसाईंका कतिपय आफन्त नै बताउँछन्।
विवादीत काममा मात्र सक्रिय उनी एक पटक ट्याक्सी चालकलाई भक्तपुरदेखि काठमाडौंको तीनकुनेसम्म नारा र जुलुस गराउन पनि सक्रिय भए।
बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने प्रक्रियामा उनले सरकार र चिकित्सा परिषद्को निर्णयविरुद्ध आवाज उठाए। यसले उनलाई चिकित्सा क्षेत्रका अन्य सरोकारवालाहरूसँग विवादमा ल्यायो।
दुर्गा प्रसाईको उदयसँगै विवाद पनि जोडिएका छन्। उनले देशका विभिन्न बैंकहरूबाट ठूलो रकम ऋण लिएर चुक्ता नगरेको आरोप लागेको छ।
उदाहरणका लागि नबिल बैंकबाट झन्डै ७५ करोड रुपैयाँ ऋण लिएको र समयमै चुक्ता नगरेको विवाद लामो समयदेखि चलिरहेको छ।
उनीमाथि सरकारी नियमको अवज्ञा गरेको, चिकित्सा शिक्षा क्षेत्रको नीतिहरू उल्लङ्घन गरेको, र आफ्ना व्यावसायीक हितका लागि राजनीतिक प्रभाव प्रयोग गरेको आरोप पनि लागेका छन्।
‘बैंकको ऋण लिने र ऋण नतिर्ने अभियान चलाउनु पनि गल्ती थियो। बरु, ऋण मिनाहका निम्ति कानुनी पहल गरेको भए राम्रो हुने थियो। तर, बैंकका कर्मचारी थर्काउने कालोमोसो दल्ने अभियान चलाउनु ठिक थिएन’, उच्च स्रोतले भन्यो,‘अनि हतियार राखेको सम्बन्धी विवादले पनि उनलाई सतहमा मैलो छवि बनाउन मद्दत गरेको थियो।’
चिकित्सा क्षेत्रको साथै दुर्गा प्रसाईको नाम राजनीतिक क्षेत्रमा पनि जोडिएको छ। उनी नेकपा (एमाले) पार्टीको सदस्यका रूपमा राजनीतिक गतिविधिमा सक्रिय थिए। एमाले १०औं महाधिवेशनपछि उनी पार्टीको उद्योग तथा व्यापार शाखाको उपप्रमुख बने।
तर, त्यसको दुई बर्षमा नै राजतन्त्र पुनर्स्थापनाको माग गर्दै हिन्दू राष्ट्रको समर्थनमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिए। यसैका कारण, उनलाई नेकपा एमालेबाट निष्कासित गरियो।
उनी बारम्बार राष्ट्रिय मञ्चहरूमा विवादास्पद भाषण दिन्छन्, जसले गर्दा उनको समर्थन र आलोचना दुबै हुन्छ।
प्रहरी कस्टडीमा अनुसन्धानका क्रममा रहेका उनी क्यान्सरका विरामी रहेको भनी बन्दी प्रत्यक्षीकरणको मागसहित सर्वोच्च अदालतमा रिट परेको छ।