Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एकीकृत समाजवादीका महासचिव भुसालले स्वतः पाउने विभाग कसले लग्यो?

बुधबार, पुस ३, २०८१

काठमाडौं– नेकपा एकीकृत समाजवादीका पदाधिकारीदेखि स्थायी कमिटी सदस्यसम्मलाई विभिन्न विभाग तोकिएको छ। 

आफूलाई खास कम्युनिस्ट पार्टी दाबी गर्ने अध्यक्ष माधवकुमार नेपालले भने ‘कम्युनिस्ट नीति विपरित’ महासचिवको विभाग अन्य नेतालाई दिएका छन्।

महासचिव घनश्याम भुसाललाई अनुगमन विभागको जिम्मेवारी दिइएको थियो जबकि उनले पाउनुपर्ने संगठन विभाग हो।  

स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको छ। 

सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख, संगठन विभाग प्रमुखमा वेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ।

यसैगरी, पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला संघ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इञ्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।

उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ। उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इञ्चार्जको जिम्मा दिइएको छ।

सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ। युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको हो। 

सानो दल भए पनि पर्याप्त विभाग र संगठनको आकार ठूलो बनाएको नेकपा एकीकृत समाजवादीमा महासचिव भुसालको भूमिकालाई खुम्च्याइएको हो। उनी दोस्रो कार्यकालका लागि महासचिवको जिम्मेवारीमा छन्।
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्