रास्वपाको सम्भावित भविष्यमाथि प्रचण्डले गर्ने परम्परागत प्रयोगको अर्थ
काठमाडौं– यसै साता र अघिल्लो साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दुई राजनीतिक निर्णय र भाषण परम्परागत प्रयोगको शिल्पलाई पुनरावृत्ति गरेको छ।
माओवादी केन्द्रले औपचारिक रुपमा ‘अन्य दलबाट पार्टीमा आएकालाई विशेष भूमिका अनिवार्य’ दिने निर्णय भयो। यो भर्खरै सकिएको स्थानीय तहको उप निर्वाचनमा माओवादीले पाएको जनमतसँगैको हौसाईको निर्णय थियो।
अर्कोचाहिँ चितवनमा प्रचण्डले गरेको भाषण हो। जहाँ उनले सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएर रास्वपा सभापतिमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको बताइदिए।
यो उनको भविष्यलाई हेरेर गरिएको प्रयोग थियो। चितवनमा रास्वपा कार्यकर्ताको भावनालाई माओवादीप्रति आकर्षित गर्नका लागि प्रचण्डले दिएको भाषण थियो।
यस्ता परम्परागत प्रयोग प्रचण्डका लागि नयाँ होइनन्। उनले यसअघि पनि यस प्रकारका भावनात्मक समर्थन जुटाउने र सम्भावित भविष्यलाई आँकलन गरी राजनीतिक निर्णय लिने गरेका थिए।
यसका केही उदाहरण छन्।
सहकारीसँग जोडिएका प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको राजनीतिक बिग्रहसँगै पार्टीमा हुने सम्भावित विभाजनलाई आँकलन गरी कार्यकर्ताको भावनात्मक समर्थन लिने होडमा छन् प्रचण्ड।
रास्वपा भनेकै रवि लामिछाने भन्ने भाष्य बनिरहेका बेला किञ्चित यस प्रकरणमा दोषी करार भए रास्वपामा हुन सक्ने सम्भावित विग्रहको फाइदा लिने दाउमा छन्, प्रचण्ड। यसकारण चितवनमा मात्र नभएर सार्वजनिक रुपमा नै उनले रविप्रतिको सहानुभूती देखाइरहेका छन्।
जबकि उनै प्रधानमन्त्री रहेका बेला लामिछानेलाई छानबिनका लागि संसदीय विशेष समिति गठन गरिएको थियो। सोही समितिको प्रतिवेदनका आधारमा प्रशासनिक निकायले अन्यसहितका उजुरीमाथि छानबिन गरी लामिछाने अहिले हिरासतमा छन्।
शुक्रबार उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले तीन वटा सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा जिल्ला अदालतमा अभियोजन दर्ता गर्दैछ।
यस उपक्रममा लामिछाने थुनामा गएर रास्वपाको भविष्य अन्यौल हुने सम्भावना रहेको र त्यसको समर्थन माओवादीले पाउन सक्ने आँकलन प्रचण्डले गरेका छन्।
‘प्रचण्डले विभिन्न समयमा राजनीतिक रुपमा गर्ने निर्णय तत्कालिक मात्र नभएर भविष्यलाई समेत हेरेर हुने गरेका छन्’, माओवादी उच्च स्रोतले भन्यो,‘राजनीतिमा यस्ता प्रयोगमा अध्यक्ष प्रचण्ड माहिर हुनुहुन्छ।’
यस्तो प्रयोगको एउटा उदाहरण हो, देशमा राजसंस्था ढल्नासाथ राजावादीको समर्थन पनि बटुल्ने चेष्टा प्रचण्डले गरेका थिए। त्यसका निम्ति राजाको क्याबिनेटका मन्त्री बनेका राधाकृष्ण मैनालीलाई पार्टीमा ल्याएर तितर वितर हुन लागेका राजावादीको भावना समेट्न खोजेका थिए।
त्यसका निम्ति एउटा विभाग नै गठन गरी त्यसको प्रमुख मैनाली बनाइएका थिए। तर, मैनाली लामो समयसम्म माओवादीमा रहन सकेनन्। प्रचण्डको त्यो प्रयोग असफल भएको थियो।
राजनीतिमा प्रचण्डले भविष्यलाई आँकलन गरेर लिएको निर्णय थियो नेकपा एमालेसँगको एकीकरण। नेकपा गठन गर्नु प्रचण्डको निजी स्वार्थ रहेको एमालेका कतिपय नेताले बताएका थिए।
‘बहुमत भनी पार्टी कब्जा गरी एमालेको संगठन नै हातमा लिने प्रयोग गरेका थिए तर अदालतको आदेशका कारण असफल भयो’, हाल प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले त्यसबेला भनेका थिए,‘प्रचण्डको योजना चकनाचुर भयो।’
हुन पनि प्रचण्डले गर्वका साथ बेलामौका अहिले पनि भन्छन्,‘मैले ७० प्रतिशतको केन्द्रीय समितिको निर्णय बाट केपीलाई हटाएको हो। तर, अदालतले पार्टी पुनर्जिवित गरिदियो। यो अदालत पनि। बोल्न मिल्दैन।’
यसरी राजनीतिक घटनाक्रमलाई आफूकेन्द्रित बनाउने होडमा प्रचण्डका पछिल्ला गतिविधि देखिन्छन् जुन उनका परम्परागत प्रयोग मानिन्छन्।