काठमाडौं– पहिला प्रेम सम्बन्ध कायम राख्ने अनि विविध कारण देखाएर हत्या गर्नेहरू कम छैनन्। नेपालका विभिन्न ठाउँमा सामाजिक अपराध बढ्नुका अनेक प्रकारका कथा हुने गरेका छन्।
यसमध्य ५ जना त्यस्ता हत्यारा प्रेमी थिए कि आफ्नै प्रेमिकाको ज्यान लिने बर्बता गरेका छन्।
महोत्तरीको बर्दिवास नगरपालिका–५, टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरियाका २५ वर्षीय मन्दीपकुमार यादवलाई पक्राउ गरेको थियो।
महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको थियो।
विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुईजनाबिच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको थियो।
टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपितसँगै फर्किएको, टेम्पुमा सँगै यात्रा गरेको भिडिओ प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगन्जबाट पक्राउ गरिएको थियो।
एउटा अपराध लुकाउन अर्को अपराधको साहरा लिँदा प्रेमीकाको नै हत्या भएको घटना पनि छ।
व्यापारीलाई अपहरण गरी फिरौती लिएपछि पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरी दुबईमा भागेका प्रकाश लामिछानेलाई प्रहरीले पक्रेर काठमाडौं ल्याएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले इन्टरपोलसँग समन्वय गरी लामिछानेलाई दुबईमा पक्रेर ल्याएको थियो। भक्तपुर बागेश्वरीका लामिछानेविरुद्ध इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो।
लामिछानेले धादिङ घर भएकी प्रेमिका राधिकालाई प्रयोग गरी मख्खन गल्लीमा न्यू डालिज साडी र साडी संसार पसल सञ्चालन गर्ने श्यामसुन्दर अग्रवालको अपहरण गरेका थिए। राधिका अग्रवालको पसलमा काम गर्थिन्।
१० लाख ७० हजार रुपैयाँ फिरौती लिएपछि पोल खुल्ने डरले लामिछानेले राधिकाको हत्या गरेर भक्तपुरको मुहानपोखरीमा शव फालेका थिए।
घटनामा संलग्न भएको भन्दै प्रहरीले किशोर गिरी र सरोज घोरासैनेलाई पक्राउ गरे पनि लामिछाने फरार थिए।
लामिछानेको योजनाअनुसार राधिकाले साहु श्यामसुन्दरलाई ‘अर्जेन्ट’ काम छ भन्दै सनसाइन होटलमा बोलाएकी थिइन्। सोही होटलको अर्को कोठामा प्रकाश लामिछानेको समूह थियो।
होटलमा भेटेपछि श्यामसुन्दर र राधिका दुबैले मदिरा सेवन गरे। त्यही मौकामा लामिछानेको समूहले अपहरण गरेको थियो।
यो समूहले श्यामसुन्दरलाई कुटपिट गर्दै हातखुट्टा बाँधिदियो र मुखमा टेप लगाइदियो। १० लाख ७० हजार फिरौती लिएपछि उनलाई त्यहीँ छाडेर चारै जना भागे।
अपहरणमा संलग्न चारै जना बसन्तपुर पुगेर रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। सरोज र किशोरले २–२ लाख पाए भने बाँकी रकम प्रेमी–प्रेमिका समेत रहेका प्रकाश लामिछाने र राधिकाले राखेका थिए।
प्रहरीका अनुसार रकम बाँडेपछि राधिका प्रकाशकै घर गइन्। केहीबेरमा किशोर र सरोज पनि पुगे। तर, आफ्नो प्रेमिकाबाट अपहरणको पोल खुल्ने डर प्रकाश लामिछानेमा आयो।
प्रहरी हिरासतमा रहेका किशोर गिरीले बताएअनुसार उनले प्रेमिकालाई नै मार्ने योजना बनाए। कार्टुन टेप मुखमा लगाइदिए र डोरीले हातखुट्टा बाँधेपछि प्रकाशले घाँटी थिचेर राधिकाको हत्या गरे।
लगत्तै यो समूहले राधिकाको शव बोरामा पोको पारेर मोटरसाइकलमा राखेर मुहानपोखरीमा खाल्डो खनेर पुरेका थिए।
व्यापारी श्यामसुन्दर अग्रवाल फिरौती बुझाएर छुटेको खबरपछि प्रहरीले अपहरणकारीको खोजी थालेको थियो। त्यसक्रममा धादिङ घर भई कालिमाटी बस्ने २५ वर्षीया राधिकाको शव भक्तपुर मुहानपोखरीमा खाल्डोमा पुरेको अवस्थामा भेटियो।
दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ७ घर भई काठमाडौं बस्दै आएका कुमार श्रेष्ठ पक्राउ गरिएका थिए।
उनीमाथि रामेछाप लिखु गाउँपालिका–५ घर भई काठमाडौं बस्ने २८ वर्षीया पर्मिला दमाईको हत्या गरेको आरोप थियो। पक्राउ परेपछि उनी
पश्चातापमा छन्। उनले पर्मिलाको हत्या गरेको स्वीकारिसकेका छन्। तर यो घटना भएपछि आफैं पनि पीडामा भेटिएका थिए।
किनभने उनले आफ्नै प्रेमिकाको हत्या गरेका हुन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ९ विजय चोकस्थित सिराहा–धनुषा गेष्ट हाउसको कोठा नम्बर १०८ मा एक जना महिलाको शव फेला परेको थियो।
प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरी होटलमा एक महिला मृत फेला परेको भन्ने जानकारी दिइएको थियो। उक्त खबरपछि प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौंको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो।
मृतकको अनुहारमा रगत थियो भने घाँटीमा नाइलनको डोरी कस्सिएको थियो। ती महिलाको हत्या नै भएको भन्नेमा प्रहरी निष्कर्षमा पुगिसकेको थियो।
प्रहरीले होटलमा ती महिलासँग एक जना पुरूष बस्दै आएको भन्ने जानकारी पाएको थियो। होटलमा पनि पुरूषकै नाममा उक्त कोठा दर्ता भएको खुलेको थियो।
सञ्जिब लामा नामबाट होटलमा इन्ट्री भएको थियो। त्यस्तै उनले नम्बर पनि टिपाएका थिए।
होटलमा टिपाएको नम्बरमा प्रहरीले सम्पर्क गर्दा एक जना प्रहरी अधिकृतकै नम्बर रहेको खुलेको थियो।
प्रहरीले सुरूमा मृतक महिलाको पहिचान खुलाउने प्रयास गरेको थियो। जसक्रममा ती महिला रामेछाप घर भई काठमाडौं बानेश्वरमा श्रीमान नस्से दमाईसँग बस्दै आएकी २८ वर्षीया पर्मिला हो भन्ने खुल्यो।
उनीमाथि सोधपुछपछि प्रहरीले कुमार श्रेष्ठबारे पत्ता लगाएको हो।
कुमार श्रेष्ठ पनि विवाहित नै हुन्। पर्मिलाको एउटा छोरा छ। कुमार र पर्मिलाबीच प्रेम सम्बन्ध थियो। उनीहरूको सम्बन्धबारे दुबै परिवारलाई थाहा थियो।
इलाका प्रहरी कार्यालय धोबी रामेछापमा दुबै परिवारलाई झिकाएर छलफल समेत भएको पाइएको थियो। उक्त छलफलपछि दुबै पक्ष आआफ्नो परिवारसँग बस्ने भनेर सहमति जनाएको थियो। यो डबल अफेयरको चक्करमा भएको विवादपछिको सामाजिक अपराध थियो।
कुमार कामको सिलसिलामा भारत गएका थिए। त्यहाँ हुँदा दुई जनाबीचको कुराकानी बाक्लिएको थियो। पर्मिला आफ्ना श्रीमानसँग काठमाडौं बस्न आएको थाहा पाएपछि कुमार पनि काठमाडौं आए। कुमार जेठी छोरीसँग बस्न थालेका थिए।
उनीहरूबीच प्रेम सम्बन्ध गहिरिएपछि लिभिङ टुगेदरमा समेत बसेका थिए। लोकन्थलीमा एक घरमा उनीहरू लिभिङ टुगेदरमा बसे। कामको सिलसिलामा कुमार दोलखा गएपछि पर्मिला पनि आफ्नै श्रीमानकै डेरामा फर्किएकी थिइन्।
काठमाडौं फर्किएको केही समयसम्म उनीहरूबीच सम्बन्ध राम्रो थिएन। तर पछि फेरि गेष्ट हाउसमा उनीहरूको भेट हुन थाल्यो। घटना हुनु दुई दिनअघि होटलको १०८ नम्बरको कोठामा बसेर फर्किएका थिए।
त्यसदिन भने उनीहरूबीच झगडा परेको थियो। पर्मिलाले कुमारलाई सधैं बाहिर मात्रै बसेर नहुने भन्दै विवाह गर्न भनेकी थिइन्। कुमार विवाहित भएकाले विवाह गर्न आनाकानी गरिरहेका थिए।
त्यसैबीच निस्किन खोजेका कुमारलाई पर्मिलाले समाएकी थिइन्। त्यही क्रममा उनको कपडा च्यातियो। कुमारले एक्कासि पर्मिलाको कन्चटमा हिर्काउँदा पर्मिलाको टाउको ठोक्किएको थियो।
टाउको ठोक्किएर बेहोस भएपछि कुमारले नाइलनको डोरीले पर्मिलाको घाँटीमा कसेर हत्या गरेको प्रहरीले जनाएको थियो।
सुमना श्रेष्ठको हत्या आरोपमा धरान उपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको एउटा फरक घटना थियो।
हत्याका आरोपी भुजेललाई धनकुटाको मूलघाटबाट पक्राउ गरिएको थियो। प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले पत्तो लगायो।
उनका अनुसार हत्या गरिएकी श्रेष्ठ र हत्या आरोपी भुजेलबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानका क्रममा देखाएको छ। श्रेष्ठसँग सम्बन्ध बिग्रिएपछि आरोपी भुजेलले योजनाबद्ध रूपमा श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो।
प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरीसमेत सार्वजनिक गरेको थियो।
धनुषाका एक युवकले साथीसँग मिलेर आफ्नै प्रेमिकाको हत्या गरेका छन्। विवाह गर्न दवाव दिएको भन्दै धनुषा जनकनन्दनी गाउँपालिका–३ का २२ वर्षीय रामललित मण्डल खत्वेले आफ्ना साथी ज्ञानेन्द्र दास र रमेश कुमार मण्डलसँग मिलेर सोही गाउँपालिका– ५ की प्रेमिका रेखाकुमारी मण्डलको हत्या गरेका थिए।
रामललित र रेखाबीच पछिल्लो ५–६ वर्षदेखि प्रेम सम्बन्ध रहेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको थियो। तर रेखाका अभिभावकले दुवैको प्रेम सम्बन्धलाई अस्वीकार गरेको खुल्न आएको छ।
यता रेखाले भागेर विवाह गर्न रामललितलाई दबाब दिइरहेकी थिइन्। तर रामललितले आफूले जागिर पाएपछि मात्रै विवाह गर्न सकिने भनेपछि उनीहरुबीच विवाद बढेको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन्। पछि रामललितले आफ्ना दुई साथीसँग मिलेर रेखाको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो।
प्रहरीले रामललितसँगै उनका साथीहरू धनुषा शहीदनगर नगरपालिका–८ नाथपट्टीका रमेशकुमार मण्डल र जनकनन्दनी गाउँपालिका–३ का ज्ञानेन्द्र दासलाई पक्राउ गरी कर्तव्य जान मुद्दा लगायो।
नेपालमा हालैका वर्षहरूमा आफ्नै प्रेमिकाको हत्या गर्ने घटनामा वृद्धि भएको देखिन्छ।
यी घटनाले समाजमा गहिरो चोट पुगेको छ। यस्तो अपराधका पछाडि रहेका कारण र तिनका प्रभावलाई बुझ्नु अत्यन्त महत्त्वपूर्ण छ।
ईर्ष्या र स्वामित्वको भावनाका कारण पनि प्रेमिकाको हत्या हुने गरेको मनोविदहरूको बुझाई छ। यसबाहेक विश्वासघातको शंका अर्को कारण हो।
सन्देह र अविश्वासले सम्बन्धमा तनाव उत्पन्न गर्दछ। कहिलेकाहीँ प्रेम सम्बन्धमा एकपक्षीय शंका चरम सीमामा पुगेपछि हत्या जस्तो अपराधसम्म पुग्ने सम्भावना हुन्छ।
मानसिक स्वास्थ्य समस्याले पनि मानिसलाई हत्या गर्न उद्दत गर्दछ। डिप्रेशन, आक्रोश व्यवस्थापनमा असफलता, वा अन्य मानसिक समस्याका कारणले व्यक्ति यस्तो अपराधमा संलग्न हुन सक्छ।
सांस्कृतिक र लैंगिक असमानता पनि प्रमुख कारण मध्य पर्ने कतिपय प्रहरी अनुसन्धानले खुलाएका छन्। महिला विरुद्धको हिंसा हाम्रो समाजमा गहिरो रूपमा गाडिएको छ। महिलालाई अधिकारको दृष्टिले दोस्रो दर्जाको रूपमा हेर्ने प्रवृत्तिले पनि यस्तो घटनालाई प्रोत्साहन दिन सक्छ।