निक्कै चर्चामा रहेका तीन हनिट्रयाप घटनाः कसरी सुरु भयो यस्तो अपराधको श्रृङ्खला
काठमाडौं– प्रेमजालको पासोमा परेर कतिपयले आफ्नो घरबार देखि जीवन नै समाप्त पारेका घटना पर्याप्त छन्। खासगरी सम्पत्ति भएका घरका युवा, पुरूषहरू यसरी प्रेम जालको पासोमा परी बर्बाद भएका छन्। यसलाई अपराधको अर्को रूप ‘हनिट्रयाप’ भन्ने गरिएको छ।
पहिलो चर्चित हनिट्रयाप घटना हो, दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या। श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी युवती पूजा घर्तीमगर लाई प्रहरीले पक्राउ गरेपछि यसको रहस्य खुलेको थियो।
दाङको विशेष टोलीले घटनाका मुख्य अभियुक्तहरू तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको थियो। मिलोमतोमा नै यो घटना भएको थियो।
अपहरणमा परेका श्रेष्ठको शव प्रहरीले असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो।
अपहरणपछी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ। अपहरण र हत्यामा संलग्न भएको आरोपमा भर्खरै पक्राउ परेकी पूजाले व्यापारी श्रेष्ठसँग लामो समयदेखि संगत गरेको खुलेको थियो। एक प्रकारले श्रेष्ठ पूजासँग प्रेममा थिए। पछि पूजाको योजनामा नै उनको अपहरणपछि हत्या भयो।
नेपालमा केही वर्षयता यस्ता कार्यमा महिला–पुरुष दुवैको संलग्नता बढ्दै गएको छ। हनिट्रयापमा पारेर रकम असुलीदेखि हत्यासम्म गरिएका घटना बाहिर आइसकेका छन्।
यसको दोस्रो चर्चित घटना हो, पाँचखालको घटना।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित ४९ किलोमा एक पुरुष मृत भेटिए। प्रहरी अनुसन्धानको क्रममा उक्त शव काठमाडौंको कीर्तिपुर नगरपालिका–५, बस्दै आएका ५० वर्षीय विनोद खड्गीको भएको खुल्यो।
उनको अपहरणपछि हत्या गरेर शव फ्यालिएको पछि पुष्टि भएको थियो। घटनामा संलग्न पाँच जनालाई कानुनी कारबाही गरियो। सिन्धुपाल्चोककी २१ वर्षीया मनिषा महत, शंखरापुर बस्ने २२ वर्षीय सरिन घिमिरे र रिकेश पौडेल, महोत्तरीका २० वर्षीय आशिष पासवान र बागलुङका १९ वर्षीय प्रतीक गौतम उक्त काण्डमा समातिएका थिए।
मासु पसल सञ्चालन गर्दै आएका विनोद र मनिषाबीच केही समयअघि चिनजान भएको थियो। उनी भक्तपुरको राधेराधेस्थित मनिषा बस्दै आएको फ्ल्याटमा पुगिरहन्थे। उनीहरु दुवैबीच मायाप्रेमको सम्बन्ध पनि गाँसिएको तथ्य खुल्यो।
त्यसबीच मनिषा भारत पुगिन्। त्यहाँ दुई भारतीय नागरिकसँग मिलेर एकजनालाई हनिट्रयापमा पार्दै कुटपिटपश्चात् डेढ लाख रुपैयाँ लिएर उनी नेपाल फर्किन्। त्यसपछि मनिषासहितले नेपालमा पनि धनी व्यक्तिलाई हनिट्रयापमा पार्ने र रकम लुट्ने योजना बनाएका थिए।
जसको शिकार विनोद बनेका थिए। प्रहरीले दिएको जानकारीअनुसार अंशु, शिवम, सरिन र रिकेश मनिषाको कोठामा भेला भए। त्यहाँ उनीहरुले योजना बनाए। र, सोहीअनुरुप मनिषाले भोलिपल्ट बिहान विनोदलाई नागरिकता बनाउन सिन्धुपाल्चोकसम्म पुर्याइदिन भन्दै बोलाइन्।
बिहान साढे ११ बजेतिर त्यहाँ पुगेका विनोदलाई मनिषा र शिवमले रक्सी खुवाएका थिए। अनि खुर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएर कोठामा पुग्नासाथ विनोदमाथि आक्रमण गरेका थिए।
तेस्रो र हालैको चर्चित हनिट्रयापको घटना हो, भैंसेपाटी प्रकरण।
घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घटनाको योजनाकार इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल ईस्लामलाई अदालतले थुनामा पठाउन आदेश गरिसकेको छ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीले ईस्लामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका थिए।
इटहरी बस्ने सुस्मा विश्वकर्मासँग १ लाख र भीमादेवी थापासँग अदालतले २ लाख रुपैयाँ धरौटी मागेको थियो। प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएका छन्।
व्यवसायीलाई हनिट्रयापमा पारेर आपराधिक लाभ लिएको कसुरमा इन्स्पेक्टर विनु कुमारी शाही, सुनसरी घर भएका दर्शन पोखरेल, प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरी बस्ने भिमादेवी थापा, इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल ईस्लाम र धनकुटा घर भएर इटहरी बस्ने सुस्मालाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।
आरोपीहरूले घर जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भनेर ३० लाख असुलेका हुन्। आरोपीहरुसँग मिलेको भेटिएपछि इन्स्पेक्टर विनु शाहीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको थियो। घट्नामा उनलाई पनि प्रतिवादी कायम गरिएको छ।
ललितपुरको सानागाउँ बस्ने घरजग्गा कारोबारीले भिमादेवी थापाको खातामा रकम जम्मा गरेको र १० लाखको चेक दिएको प्रहरीको अनुसन्धान निष्कर्ष थियो।
प्रहरी उपरीक्षक कमल थापाले सो घटनाका मुख्य योजनाकार तजम्मुल ईस्लामलाई भैंसेपाटीमा त्यसबेला कार्यरत इन्स्पेक्टर शाहीलाई भेट्न पठाएको भनिए पनि थापाले सो कुरा अस्वीकार गरेका थिए।
१९ वर्षीया सुस्माले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन्। उजुरी परेपछि बोलाएर छलफल गराएको इन्स्पेक्टर शाहीको भनाई छ।
हनिट्रयाप अहिले रकम असुलीको नयाँ धन्दा बनेको छ। यस्ता अपराधमा संलग्न रहेका युवतीहरू प्रायः सुन्दर, खानदानी देखिने र आकर्षक समेत बन्छन्। जो चाँडै प्रेम बन्धनमा बाँधिएको नाटक गर्छन्। युवक अथवा पुरूषले प्रस्ताव राख्न हिचकिचाए पनि प्रस्ताव राख्छन् र कुनै नाटक गरी समस्या सुनाउँछन्। समस्या सुनाउँदा पनि काम नभए अपहरण गरी रकम हात पार्छन्। प्रायः यस्ता युवतीको गिरोह नै हुन्छ। भारतमा यस्तो गिरोहको ठूलो सञ्जाल छ, जुन नेपालसम्म विस्तार भइसकेको छ।
लुटपाटका लागि मात्र नभएर कतिपय राष्ट्रिय सुरक्षाका गोप्य जानकारी लिनका लागि सुरक्षा अधिकारीलाई पनि ‘हनिट्रयाप’को माध्यमबाट फसाउने गरिँदै आएको छ।
नेपालमा यस्तो घटनाको जानकारी अहिलेसम्म नआए पनि भारतमा भने सैनिक अधिकारीहरू यसरी फँसिसकेका छन्। खासगरी भारतीय स्थल र जल सेनाका अधिकारीहरू।
पाकिस्तानी गुप्तचर संस्थाकी महिलासँग प्रेमजालमा फँसेका कर्णेलले सेनाका गुप्त जानकारी दिएको आरोप लागेको थियो। उनलाई पक्राउ गरी कारबाही समेत गरियो।
हनिट्रयाप रुसबाट सुरु भएको थियो। अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआइए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गर्दथ्यो। जसमा अधिक सफलता मिलेको भन्ने चर्चा रुसमा भयो।
कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरिएको हनिट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ श्रृङ्खला बनिदियो।