त्रिपुरेश्वरको भाटभटेनीमा अखाद्य ढुसीयुक्त नरिवल भेटियो, दुई लाख जरिवाना
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा प्याक गरिएका नरिवलमा ढुसी (फङ्गस) भेटिएपछि तत्कालै कारबाही गरेको छ।
महानगरको गुनासो इकाइमा उपभोक्ताबाट उजुरी प्राप्त भएपछि महानगर प्रहरी बल र खाद्य प्राविधिकसहितको टोलीले अनुगमन गरेको थियो।
अनुगमनका क्रममा नरिवलमा अखाद्य ढुसीजन्य पदार्थ फेला परेको र उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने हुँदा खाद्य प्राविधिकको रोहवरमा नरिवललाई नष्ट गरिएको महानगरले जनाएको छ।
यसका साथै, खाद्य सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै भाटभटेनी सुपरमार्केटलाई काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना तोकेको छ।
उपभोक्ताहरूलाई खाद्य वस्तु खरिद गर्दा विशेष सतर्कता अपनाउन आग्रह गर्दै, कुनै पनि शंका लागेमा गुनासो इकाइमा जानकारी गराउन महानगरले अनुरोध गरेको छ।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ १७:२६
प्रतिक्रिया दिनुहोस्