बाबुले गरे ३१ वर्षीय छोराको हत्या
काठमाडौँ- भक्तपुरमा ६३ वर्षीय दीपबहादुर शाहीले चक्कु प्रहार गरेर आफ्नै ३१ वर्षीय छोरा नरेन्द्र शाहीको हत्या गरेका छन्।
भक्तपुर नगरपालिका-२ स्थित सहिद स्मृति खेल मैदान नजिकै उक्त घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। घटना पुस २ गते साँझको हो ।
पुस २ गते राति सवा १० बजे अछामको कमलबजार नगरपालिका-६ हात्तिबाच घर भएका शाहीमाथि पेटमा चक्कु प्रहार भएपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको राति पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरको टोली अनुसन्धानमा खटिएको थियो ।
अनुसन्धानका क्रममा बाबु शाहीले नै हत्या गरेको खुलेको भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डीराज न्यौपानेले बताए । हत्याको कारणमा भने मिर्गौला प्रत्यारोपणको विवाद जोडिएको खुलेको प्रहरी स्रोतले जनाएको छ।
छोराको हत्या आरोपमा पक्राउ परेका दीपबहादुरमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।