Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलको फाइनलमा यसरी पुगेका थिए जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स, कसले मार्ला बाजी?

शनिबार, पुस ६, २०८१

काठमाडौं– जनकपुर बोल्ट्सका लागि नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल किन पनि महत्वपूर्ण छ भने उसले सुदूरपश्चिम रोयल्ससँगका यसअघिका दुई भेटमा नमिठो पराजय भोगेको थियो। 

भाग्यवस् सोही टोलीसँग जनकपुरको तेस्रो र एनपीएलको उपाधि नै उचाल्नुपर्ने खेल त्रिवि मैदानमा शनिबार मध्यान्नबाट सुरु हुँदैछ। 

यी दुवै टोली अत्यधिक समर्थक भएका फ्रेन्चाइज हुन्। 

जारी प्रतियोगितामा जनकपुरलाई सबैभन्दा कम ५१ रनमा सीमित पार्ने काम सुदूरपश्चिमले नै गरेको थियो।

फाइनलको दबाव र प्रतिस्पर्धाको मनोविज्ञान लीग चरणको भन्दा फरक हुने भएकाले शनिबारका लागि सुदूरपश्चिम पनि दबाबमा रहेको छ।

लीग चरणको नतिजापछि सुदूरपश्चिमलाई नै उपाधि दाबेदारको सूचीमा राख्ने क्रिकेट समर्थकहरू पनि छन्।

तर जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले पत्रकार सम्मेलनका क्रममा भनेका थिए,‘हामी फाइनलमा बदला लिनेछौं।’

मार्की (मुख्य) खेलाडी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा उत्रिएको रोयल्सले पहिलो खेलदेखि नै प्रभावकारी प्रदर्शन गरेको थियो।

उसले जारी लीगमा एक मात्र खेल हारेको छ। त्यो लीग चरणको चौथो खेलमा चितवन राइनोजविरुद्ध थियो।

लीगको पहिलो खेलमा टोलीले विराटनगर किङ्गसलाई हरायो।

कप्तान दीपेन्द्र सिंह ऐरीको ५७ रनको अर्धशतकीय योगदानमा टोलीले १८२ रन जोड्यो र विराटनगरलाई ९२ रनमा अलआउट गर्दै ९० रनले जित्यो।

जितको त्यो लय तेस्रो खेलसम्म जारी रह्यो।

नरेन साउदको ५ विकेटको मद्दतमा दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो भने तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो। 

उक्त खेलमा ओपनर सैफ जैइद ९० रन बनाएर चम्किए।

सुदूर पश्चिमको लगातारको जितमा चितवन राइनोजले ‘ब्रेक’ लगाएको थियो। चितवनले बनाएको १६४ रनलाई पछ्याउन आएको सुदूर पश्चिम १३१ रनमा समेटिन पुगेको थियो।

त्यसयता सुदूरपश्चिमले फेरि हार बेहोर्नु परेको छैन।

पाँचौँ खेलमा १२३ रन बनाएको सुदूरपश्चिमले जनकपुरलाई ५१ रनको न्यून स्कोरमा सीमित पारेर आफ्नो बलिङ शक्ति प्रस्तुत गरेको थियो।

छैटौँ खेलमा टोलीले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक खेलमा ५ रनले तथा लीगको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराएर तालिकाको शीर्ष स्थानमा लीग टुङ्ग्याएको थियो।

पहिलो प्ले अफ भेटमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरेर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो।

यता, सुदूरपश्चिम जस्तै जनकपुर बोल्ट्सको लीग चरणको प्रदर्शन पनि तारिफयोग्य देखियो।

तर शुरुआती चरणमा जनकपुर जति प्रभावकारी बन्यो, अन्त्यतिर आइपुग्दा धरमराउन पुगेको देखियो।

जनकपुरले सुरुको लगातार चार खेल जित्यो।

लाहिरु मालिन्थाको ७५ रनको मद्दतमा विराटनगर किङ्गसलाई ८ विकेटले पराजित गरेर जनकपुरले लीगको सुरुआत गरेको थियो।

टोलीले दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेट तथा तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हरायो।

चौथो खेलमा लुम्बिनी लायन्स विरुद्धको १ रनको प्रतिस्पर्धात्मक जित जनकपुरको रोमाञ्चक जितमा पर्छ।

पाँचौँ खेलमा जनकपुरको जितको यात्रालाई सुदूरपश्चिमले नै ‘ब्रेक’ लगाइदिएको हो।

त्यो ५१ रनको हारले टोलीका अनेक गल्तीहरू छरपस्ट भएको थियो।

छैटौँ खेलमा जनकपुरले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो, तर लिगको अन्तिम खेलमा चितवन राइनोजसँग हार बेहोर्न पुग्यो।

चितवनका कप्तान कुशल मल्ल चम्केको सो खेलमा जनकपुर ३२ रनले हारेको थियो।

लिगको ५ खेल जितेर शीर्ष २ मा रहँदै जनकपुर क्वालिफायर १ मा पुग्यो।

तर सिधै फाइनल पुग्ने सम्भावनामा भने फेरि सुदूरपश्चिम नै बाधक बन्न पुग्यो र ८ विकेटको हार बेहोर्दै क्वालिफायर २ खेल्न बाध्य भयो।

क्वालिफायर २ मा कर्णाली याक्सलाई हराउँदै जनकपुरले फेरि फाइनलमा सुदूरपश्चिमसँगको भेट निश्चित गरेको हो।

जनकपुरका ओपनर रहेका अनिल साह घाइते छन्। उसका लागि अहिले बलियो र भयानक मात्र होइन खेल टिकाउने खेलाडी जिम्मि निसम देखिए, पछिल्ला चरणमा। पछिल्ला चरणका खेलमा जनकपुरका ओपनरहरु राम्रोसँग चलेका छैनन्। 

सुदूरपश्चिमका लागि भने कप्तान दीपेन्द्र सिंह ऐरीलगायतका खेलाडी बलिया रहेको आँकलन गरिएको छ। यद्यपि क्रिकेटमा कसको ब्याट कति बेला बलियो चल्ने हो त्यो भन्न नसकिने विश्लेषकहरु बताउँछन्।

समर्थकको अत्यधिक माया पाएका यी दुवै टोलीको फाइनल खेल हेर्नका लागि शनिबार बिहानैदेखि त्रिवि मैदानमा दर्शकको ओइरो सुरु भएको छ। उपाधि हात पार्ने टोलीले १ करोड १० लाख पाउनेछ भने उपबिजेता बन्नेले ५० लाख पाउनेछ। 
 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्