शनिबार सिफारिस : पति पत्निको सम्बन्धमा जब एकले सफलता पाउँछन्
दिवार, जंजीर, शोलेजस्ता प्रतिष्ठित चलचित्रमा अभिनय गरेका अमिताभ बच्चन बलिउडका एंग्री यंग म्यानका रूपमा चिनिन्छन् । यिनै चलचित्रहरूले उनलाई यो उपनाम दिएको हो ।
यसमा कुनै शंका छैन कि अमिताभ एंग्री यंग म्यानको रूपमा धेरै मन पराइए । तर, मलाई चाहिँ उनी रोमान्टिक भूमिकामा पनि उत्तिकै राम्रा लाग्छन् ।उनका रोमान्टिक चलचित्रहरूको कुरा गर्ने हो भने कभी कभी, मिली, आलाप, मुकद्दर का सिकन्दर, मंजिल, मिस्टर नटवरलाल, दो अंजाने, सौदागर, सिलसिला, शराबी, जुर्माना, एक नज़र, दोस्ताना, अभिमान, प्यार की कहानी, बंसी बिरजू आदिको नाम लिन सकिन्छ ।
आउनुस्, उनका अनगिन्ती रोमान्टिक चलचित्रहरूमध्ये एक "अभिमान" को यहाँ चर्चा गरौं । सन् १९७३ मा रिलिज भएको हिन्दी चलचित्रहरूमध्ये "अभिमान" व्यापारिक रूपमा अन्य चलचित्रभन्दा पछि परे पनि त्यो बेलाको सबैभन्दा चर्चित चलचित्र हो । यसका प्रमुख कलाकारहरूमा अमिताभबच्चन, जया भादुरी, असरानी, बिन्दु, ए.के. हंगल, दुर्गा खोटे आदि पर्दछन् ।
चलचित्रको कथा अनुसार सुबीर कुमार (अमिताभ बच्चन) एउटा राम्रो सिंगर हुन् । उनको राम्रो फ्यान फलोइङ छ । उनलाई गीत गाउन बोलाउनेहरूको भीड थामिनसक्नु छ । उनका हरेक कार्यक्रममा उनलाई सहयोग गर्छन् उनका सेक्रेटरी चन्दु (असरानी) ले । समयक्रममा सुबीरको भेट उमा (जया भादुरी)सँग हुन्छ । छोटो समयमा नै दुबैको विवाह हुन्छ । उमा पनि असाध्यै राम्रो गीत गाउँछिन् तर आफ्नै ठाउँमा मात्र । उनले स्टेजमा कहिल्यै गाएकी छैनन्।
विवाहपछि सुबीरले उमालाई स्टेजमा गाउन मौका दिन्छन् । तर, उमा सुबीर बिना गाउन मान्दिनन् । फलतः दुबै सँगै गाउन थाल्छन् । समयक्रममा उमाको डिमान्ड सुबीरको भन्दा बढी आउन थाल्छ । त्यसपछि उनी आफ्नै श्रीमतीसँग ईर्ष्या गर्न थाल्छन् । यो चलचित्रको कथा धेरै नै विश्वासयोग्य छ किनभने जब पति भन्दा पत्नी बढी सफल हुन्छिन्, तब लोग्ने मानिसले आफूलाई असुरक्षित महसुस गर्न थाल्छ । आफ्नै श्रीमतीसँग पनि श्रीमानले ईर्ष्या गर्न थाल्छन् । भारत-नेपालजस्ता देशमा त यो हामी सबैले प्रायः देखेकै कुरा हो ।
म चाहिँ व्यक्तिगत रूपमा "अभिमान" लाई "आनन्द" पछिको निर्देशक ऋषिकेश मुखर्जीको उत्कृष्ट कृति मान्छु । उत्कृष्ट निर्देशन, उत्कृष्ट संगीत (मैलेसुनेको सबैभन्दा सुन्दरमध्ये एक), उत्कृष्ट सम्पादन र स्क्रिप्ट, उत्कृष्ट कथा, र स्पष्ट रूपमा उत्कृष्ट अभिनयले "अभिमान" लाई उत्कृष्ट फिल्म बनाउँछ ।
पहिलो पटक सहानुभूतिपूर्ण भूमिका निर्वाह गर्ने बिन्दुका लागि यो चलचित्र टर्निङ प्वाइन्ट बन्यो । उनले पहिलो पटक दर्शकबाट चलचित्रमा सहानुभूति पाइन् । यसभन्दा अघि उनी प्रायः भ्याम्प/क्याबरे डान्सरका रूपमा परिचित थिइन् । उदाहरणको लागि उनी पहिले "मोना डार्लिङ" को नामले परिचित थिइन् ।
अमिताभ बच्चनले "सुबीर कुमार" को रूपमा साँच्चै नै उत्कृष्ट काम गरेका छन्, त्यस्तै जया बच्चनको काम पनि उत्कृष्ट छ । जयाले यो चलचित्रबाट फिल्मफेयर बेस्ट एक्ट्रेसको अवार्ड जितेकी थिइन् । त्यस्तै, यसका संगीतकार एस.डी. बर्मनले पनि बेस्ट म्युजिक डाइरेक्टरको अवार्ड जितेका थिए ।यसका लागि एस.डी. बर्मन बधाइका पात्र हुन् ।
चलचित्र "अभिमान" लाई धेरैले धेरैको सम्बन्धमा आधारित भनेर भन्ने गरेका छन् । कोही किशोर कुमार र उनकी श्रीमती रुमा गुहाको सम्बन्धमा आधारित भन्छन् भने कोही पण्डित रविशंकर र उनकी श्रीमती अन्नपूर्णा देवीको सम्बन्धमा आधारित भन्छन् । यो बारेमा खुलेर भन्न नसके पनि सन्१९५४ को हलिउड चलचित्र "अ स्टार इज बर्न" (A Star is Born) सँग भने यो चलचित्र धेरै मिलेको पाइन्छ ।
तपाईंहरू क-कसले यो चलचित्र हेर्नुभएको छ ?