फूलहरूसँग संवाद
खै, आजभोली कहाँ छिन्, के गर्दैछिन् अथवा कुन आलोकमा रमाइरहेकी होलिन्।
मालीको जीवन माटो, बिरुवा, र बगैंचामै सीमित हुन्छ भनेझैं त्यो सीमा पार नगरेका प्रवेश यहि सोचिरहेका छन्।
उनी ति मिस अंकितालाई सम्झिरहेका छन्। प्रवेश अंकितासँगको डेढ दशकअघिको एउटा संवाद सम्झिन्छन्। अंकिताले सोध्थिन्,‘तपाईं किन यति धेरै मिहिनेत गरेर बगैंचा सजाउनुहुन्छ?’
प्रवेश ति प्रश्नमा मौन हुने गर्दथे। अचेल उत्तर दिन मन लाग्छ उनलाई,‘फूलहरू मात्र हुन्, जसले बिना शब्द आफ्नो माया व्यक्त गर्न सक्छन्।’
प्रवेशले पनि अंकिताको मुस्कानलाई आफ्नो बगैंचाको प्रेरणा ठान्थे।
एउटा अतृप्त सपना जस्तै रहेको थियो प्रवेश–अंकिता सम्बन्ध।
प्रवेशले माटोमा मिहिनेत गरेर फूल उमारे जसरी मायाका अंकुर उमार्ने सपना बुनेका थिए। सपना सजाएका थिए कि सच्चा माया समय, विश्वास, र मिहिनेतले मात्र फुल्न सकोस्।
तर समयको बेग हो, अंकितासँग प्रवेशका अव्यक्त प्रेम प्रस्ताव सपना रह्यो। उनी कहाँ अलप भइन्। सम्पर्कको सीमित स्रोत र साधनबीच समयका बेगसँग प्रवेशले खोजीनीति गर्न भ्याएनन्।
भर्खरै मोबाइलको युग सुरु भएको थियो। जनआन्दोलन सकिएपछि प्रविधिको विकासको यो उपक्रममा नागरिकका हात हातमा मोबाइल फोन पुग्ने अवस्था भर्खर भर्खरै थियो।
टिकटिके मोबाइल थियो। बडो शानका साथ बेल्टमा मोबाइल मात्र अट्ने ब्याग झुन्ड्याएर बोक्थे, प्रवेश। मानौं त्यसले व्यक्तित्वलाई बढावा दियोस्। अहिले आएर लाग्छ त्यो केबल नवीन उत्साह र उत्ताउलोपना थियो।
लोकल खासगरी जिल्लाको फोन आएको बेला उठाउँदा पैसा लाग्दैन थियो। तर, जिल्लाको सीमासँगै बोलेको पनि पैसा तिर्नु पर्दथ्यो, आफूले गरेको त अहिले पनि तिर्नपर्छ।
यहि स्मृतिमा रुमल्लिन्छन् प्रवेश अहिले पनि।
चिठीपत्रको युग भर्खरै सकिएर डायलअप इन्टरनेटको समयमा याहुच्याटको याद आउँछ, उनलाई। क्याबिन–क्याबिन बनाएर खोलिएका साइबर क्याफेका सटर बन्द भइसकेका छन्, अहिले। उबेला तिनै साइबर क्याफेहरू निक्कै महँगा लाग्थे प्रवेशलाई।
कलेज सकेर एक घन्टा जति साइबर क्याफेमा चिने नचिनेका मानिससँग कुराकानी गर्दा नै मन फुरुङ हुने गर्दथ्यो। अनि, च्याटमा माग्थे– मोबाइल नम्बर।
अनि चल्थ्यो, ‘मिस कल।’
अंकितासँग छुटेका समयलाई स्मरण गरे पनि प्रवेश त्यस युगको स्मृतिलाई आजभोली फूलहरूसँग साट्छन्। जुन उनले मायाले उमारिरहेका छन्।
गुलाफसँग भन्छन्,‘‘मिस कल’को मिस हुन्छ आजभोली। एआईको जमाना आइसकेको यो समय निक्कै तिव्र छ। सम्बन्धका आयाम, सोचका दायरा फरक भइसकेका छन्। तैपनि तिम्रो रङ्ग र महत्वमा किन फरक छैन। भावना उस्तै किन छ?’
प्रविधिको तिव्र प्रयोग, चेतको गतिसँगै समाजमा सम्बन्धका सीमाहरूको अर्थ नै हुन्नन्। समाजको फड्को, सञ्जालका सोच देखेर उदेक लाग्नु अस्वभाविक होइन पनि।
प्रवेश आफैंसँग मनोवाद गर्छन्,‘साथीहरूका प्रेमका कथा, पिरतीका व्यथा, भेटका उमङ्गका लहरका बेग्लै क्षणहरू थिए। एकाबिहानै एक रुपियाँको चिया खाएर ५ रुपियाँको चनाको स्वादमा थियो जीवनको आनन्द।’
चौरमा घाम तापेर क्लास बंक गर्दा लेक्चररले बोलाई बोलाई पढाएको समय कम घत लाग्दो थिएन। प्रवेश गोदाबारी फूललाई सुम्सुम्याउँदै मनोवादमा छन्,‘भनिन्छ नि, मायाको स्पर्शमा सबै कवि बन्छन्। म पनि कवि बनेको थिएँ, गोदाबारी।’
‘त्यस्तै समयको लय कहाँ छुट्छन् पत्तै हुँदैन। त्यसैले कहिलेकाहीँ जीवनको आदीम समयलाई स्मरणमा ल्याउँदा मिसले गरेको ‘मिस कल’ मिसिङ हुन्छ यार’, गुलाफका काँडातिर नियाँलेर प्रवेश फेरि मनमनै कुरा गर्छन्।
‘जीवनको बाटोमा आउने घुम्ती र गोरेटोले ‘सोचे जस्तो छैन जीवन’ भन्ने गीतलाई स्मृतिमा ल्याउँछ अनि अनेक सुनौला समयहरु बिस्मृतिमा पुग्छन्।’
प्रवेश झल्यास्स ब्युँझन्छन्। पेशाले प्रहरी अनि बन्दुकसँग सम्बन्ध राख्ने प्रवेश सपनामा रहेछन्। वास्तविकताको मनोवादमा रुमल्लिएका उनी भन्छन्,‘कहाँ बन्दुकहरुसँग खेलिरहेको मानिस, फूलसँग कुरा गर्न पुगेंछु। हत्तेरिका सपना।’