‘स्याल’ले चलाएको रेस्टुरेन्टमा गृहमन्त्री लेखकका नातेदार कुटिए, काभ्रेली समूहका ८ जना पक्राउ
काठमाडौं– दरबारमार्गमा सञ्जिब लामा ‘स्याल’ले चलाएको लिक्विड लाउन्जमा गृहमन्त्री रमेश लेखकका नातेदार पर्ने एक जनालाई काभ्रेली समूहले निर्घात कुटपिट गरेको छ।
शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएका हुन्। उनको लेखकसँग नजिकको नाता रहेको छ।
कुटपिटमा संलग्न काभ्रेली समूहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। रोशी गाउँपालिका–४ घर भएका कुलध्वज लामा, भुम्लु गाउँपालिका घर भएका सुजन लामा र सुलभ पहारीसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गुण्डा नाइके दावा लामा समूहमा आबद्ध कुलध्व कांग्रेसको भातृ सङ्गठन तरुण दलका केन्द्रीय सदस्य हुन्। उनी यसअघि पनि प्लाटिनम क्लवमा झगडा गरेर ५ लाख धरौटीमा छुटेका थिए। सुजन लामा तरुण दल काभ्रेका अध्यक्ष र सुलभ तरुण दलको भुम्लु इकाई समितिको अध्यक्ष हुन्।
मिलन लामा, युवराल लामा, सिन्धुपाल्चोक घर भएका दावा लामा, मोरङ घर भएका डम्बर कार्मी र काभ्रेका शक्ति लामालाई पनि पक्राउ गरिएको छ।
पछिल्ला दिनमा काठमाडौंमा यसरी गुन्डागर्दी मौलाएको छ। दरबारमार्ग र ठमेल क्षेत्रमा रहेका रेष्टुरेन्ट र लाउन्जमा केही महिनादेखि गुन्डागर्दी मौलाएको हो। यसअघि लाजिम्पाटमा पनि एक व्यावसायीमाथि रड प्रहार भएको थियो।