Nic Ad Nic Ad
Nic Ad Nic Ad
ज्यान मार्ने अपराध

काठमाडौंमा भएका डरलाग्दा ५ हाइप्रोफाइल हत्याः कसलाई कसरी मारिएको थियो?

आइतबार, पुस ७, २०८१

काठमाडौं– गुन्डागर्दी र अपराधको चक्रब्युहमा व्यस्त सहर काठमाडौं उपत्यका पनि पर्छ। उपत्यका जति व्यस्त र चलायमान छ अपराधका निम्ति पनि उत्तिकै चर्चामा हुने गर्छ। 

हाइप्रोफाइल व्यक्तिहरूको योजनाबद्ध, आकस्मिक र विभिन्न हिसाबले हत्या भएका थिए। लोकतन्त्र यता र संविधानसभाको निर्वाचनपश्चात त्यसको १० बर्षभित्र हाइप्रोफाइल हत्या भएका थिए। 

त्यस मध्यका चर्चित ५ हत्या प्रकरणलाई यहाँ स्मरण गराउन खोजिएको छ। जसमा अन्तर्राष्ट्रिय गिरोहसमेतको सक्रियता रहेको खुलेको थियो। 

जमिम शाह हत्या प्रकरणः सञ्चार उद्यमी जमिम शाहको हत्या २४ माघ २०६६ मा काठमाडौंको लाजिम्पाटस्थित फ्रान्सेली दूतावास नजिकै भएको थियो। 

ना१च २१५१ नम्बरको कारमा रहेका शाहमाथि बा१५प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले दिउँसै गोली प्रहार गरेका थिए। 

घटनामा शाहको टाउको र छातीमा गोली लाग्यो, जसका कारण उनको निधन भयो। उनका चालक मथुरामान मालाकारको पनि तीघ्रामा गोली लागेको थियो, तर उनी बाँच्न सफल भए। 

प्रहरी अनुसन्धानले यो हत्या कुख्यात अन्डरवर्ल्ड डन छोटा राजन समूहको निर्देशनमा भएको निष्कर्ष निकालेको थियो। 

यसमा नेपाल प्रहरीका केही अधिकारीहरूको मिलेमतो रहेको पनि पत्ता लागेको थियो। 

तत्कालिन महानगरीय प्रहरी परिसर हाल जिल्ला परिसर काठमाडौंले २७ फागुन २०६६ मा जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दायर गरेको थियो। 

तीन वर्षपछि जिल्ला अदालतले पाँचै जनालाई दोषी ठहर गरेको थियो, तर जेल परेका सबैजना अहिले छुटिसकेका छन्। 

जमिम शाह नेपालको पहिलो स्याटेलाइट टेलिभिजन च्यानल ‘च्यानल नेपाल’ र ‘स्पेस टाइम नेटवर्क’ केबल टेलिभिजनका अध्यक्ष थिए। 

उनलाई भारतीय सञ्चारमाध्यमहरूले अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग सम्बन्धित रहेको आरोप लगाउने गर्थे, जसलाई शाहले अस्वीकार गरेका थिए। 

यो घटनाले नेपालको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको थियो। विशेष गरी लाजिम्पाटजस्तो उच्च सुरक्षा क्षेत्रभित्र दिउँसै भएको हत्या हुनु त्यो पनि उपराष्ट्रपतिको सपथ ग्रहणका दिन। त्यस दिन पहिलो उपराष्ट्रपति  परमानन्द झाको शपथ ग्रहण कार्यक्रम थियो। 

यसपछि सरकारले छानबिन आयोग गठन गरेको थियो, जसले सुरक्षा बलियो बनाउनका लागि विभिन्न सुझावहरू दिएको थियो। तर, तीमध्ये धेरै सुझावहरू कार्यान्वयनमा आएका छैनन्।

फैजान अहमद हत्या प्रकरणः इस्लामी संघ नेपालका महासचिव फैजान अहमदको २६ सेप्टेम्बर २०११ मा काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदबाट जुहरको नमाजपछि बाहिरिँदै गर्दा गोली हानी हत्या गरियो। 

दुई जनाका समूहले मोटरसाइकलमा आएर उनलाई नजिकैबाट गोली प्रहार गरेका थिए, जसमा उनको टाउको र पेटमा गोली लागेको थियो।

घटनास्थल नजिकै रहेको वीर अस्पतालमा लग्दा उनको मृत्यु भइसकेको थियो।

प्रहरी अनुसन्धानले यो हत्या भारतको अपराधी समूहसँग सम्बन्धित रहेको पत्ता लगायो। 

बिपिन यादव उर्फ मोहम्मद फहाद, जसलाई १ जनवरी २०१४ मा पक्राउ गरिएको थियो। उनी फैजानको हत्यामा संलग्न रहेको पुष्टि भयो। फहादले भारतको कुख्यात अपराधी बब्लु श्रीवास्तवबाट ‘ब्लड मनी’ पाएको स्वीर्दै हत्या गरेको बयान दिए।

फैजान अहमदको हत्या नेपालमा आपराधिक गिरोहहरूको क्रियाकलाप र सीमा पार अपराधहरूको जटिलतासँग सम्बन्धित रहेको देखिन्छ। जसले नेपाललाई अन्तर्राष्ट्रिय अपराधहरूको केन्द्रको रूपमा प्रयोग गर्ने प्रयासहरूलाई उजागर गरेको थियो। 

शरदकुमार गौचन हत्या प्रकरणः नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो। 

गौचन आफ्नो कारमा शान्तिनगरबाट नयाँ बानेश्वरतर्फ जाँदै गर्दा अपराह्न २ बजेर ५५ मिनेट जाँदा खरिबोट क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेका थिए। 

यस हत्यामा संलग्न रहेको भनिएका डन मनोजकुमार घर्ती इन्काउन्टरमा मारिइसकेका छन् भने अर्का डन समीरमानसिंह बस्नेत अहिले कारागारमा छन्।

घटनास्थलमा गम्भीर घाइते भएका उनलाई तत्काल सिभिल अस्पताल लैजाँदा मृत घोषणा गरिएको थियो। 

प्रहरी अनुसन्धानले गौचनको हत्यामा संलग्न रहेको आरोपमा विभिन्न व्यक्तिहरूलाई पक्राउ  गर्ने क्रममा मुख्य योजनाकार समिरमानसिंह बस्नेतलाई चितवनबाट पक्राउ गरिएको थियो। अहिले बस्नेत आजीवन काराबासको सजाय भोगिरहेका छन्। 

अनुसन्धानका क्रममा गौचनलाई फिरौती रकम नदिएको कारण हत्या गरिएको रहस्य खुलेको थियो। २०८० असार २० गते जिल्ला अदालत काठमाडौंले गौचन हत्यामा संलग्न २४ जनामध्ये ७ जनालाई सफाइ दिएको थियो। योजनाकार र सुटरलाई भने जन्मकैदको सजाय सुनाइएको थियो। 

गौचन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष थिए। उनी डाँफे कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसमेत थिए। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट प्राविधिक शिक्षा हासिल गरेका गौचन २०३९ सालदेखि निर्माण व्यवसायमा संलग्न थिए। 

मुना अधिकारी हत्या प्रकरणः पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीको हत्या २०७६ माघ २७ गते सानेपास्थित आफ्नै निवासमा भएको थियो। 

मुना कार्कीलाई घरमै कार्यरत २२ वर्षीय घरेलु सहयोगी विजय चौधरीले भान्सामा धारिलो हतियार र पिर्का प्रयोग गरी आक्रमण गरेका थिए। घटनापछि चौधरीले आत्महत्या गरेका थिए। 

घरमा जडान गरिएको सीसीटीभी फुटेजमा चौधरीले मुनालाई आक्रमण गरेको दृश्य कैद भएको थियो। प्रहरीले घटनास्थलमा तेस्रो व्यक्तिको उपस्थिति नभएको निष्कर्ष निकालेको थियो। 

हत्या पछाडिको स्पष्ट कारण पत्ता लाग्न सकेको छैन। प्रहरीले सामाजिक, आर्थिक र व्यवहारगत पक्षहरू खुलाएको थियो। 

मुना अधिकारी कार्कीको हत्या र घरेलु सहयोगी विजय चौधरीको आत्महत्याले समाजमा विद्यमान तनाव र मनोवैज्ञानिक समस्याहरूको गम्भीरतालाई उजागर गरेको छ। यस घटनाले घरेलु कामदार र मालिकबीचको सम्बन्धमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

केशव झा हत्या प्रकरणः पूर्वराजदूत केशव झाको हत्या २०७५ भदौ ३ गते काठमाडौंको थापाथलीस्थित आफ्नै निवासमा भएको थियो। 

८० वर्षीय झा आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेका थिए। उनको टाउको र घाँटीमा चोट लागेको थियो, र किचनको चक्कु प्रहार गरी हत्या गरिएको आशंका गरिएको थियो। 

प्रहरीले घटनापछि झाको घरमा कार्यरत सेफ सानु तामाङ र दुई मालीलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। उनीहरूको बयानको सत्यता जाँच्न ‘पोलिग्राफ टेस्ट’ (झुटो डिटेक्टर परीक्षण) समेत गरिएको थियो। 

केशव झा फ्रान्सका लागि नेपालका पूर्वराजदूत थिए। परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा एक अनुभवी कूटनीतिज्ञ थिए। यस घटनाले उच्च पदस्थ व्यक्तिहरूको सुरक्षाबारे प्रश्न उठाएको थियो। 

सामाजिक अपराधको चरणबद्ध र शिलशिला पछिल्ला चरणमा काठमाडौंमा हुने गरेका छन्। विभिन्न नाममा आपराधिक गतिविधि र कर्तव्य ज्यानका उद्योग न्यूनिकरणमा चेतनाको पनि आवश्यक रहेको प्रहरीका उच्च अधिकारी बताउँछन्।
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार