रविसँगै पत्नी निकितालाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा, बिगो मागदाबी कति ?
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ ।
उनीविरुद्ध फरक–फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति शुद्धीकरणमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन् । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी भएपनि निकिताको हकमा लागेको आरोपबारे केही बताइनन् ।
निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’ का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् । त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्ड सजाय हुँदैन ।
छविलाल जोशीविरुद्ध ७४ करोड बढी बिगो मागदाबी
यस्तै पूर्व डीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड बढी बिगो मागदाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन् ।