Nic Ad Nic Ad
Nic Ad Nic Ad
अपराध

अनुसन्धानले अचम्मित पारेका काठमाडौंका तीन हत्याकाण्डः सोच्दै डरलाग्दो र बर्बर थियो

सोमबार, पुस ८, २०८१

काठमाडौं– काठमाडौं निक्कै प्रकारका हत्या प्रकरण भएका थिए। सोच्दै डरलाग्दो र बर्बर हत्या प्रकरण अनुसन्धानमा प्रहरीलाई पनि पत्याउन सकस पर्ने प्रकारका घटनाका परिणाम निस्किएका थिए। 

ति मध्य तीन हत्या प्रकरणको अनुसन्धानचाहिँ निक्कै अचम्मित र घटनाक्रम पनि त्यस्तै आश्चर्यलाग्दो थियो। जसले निक्कै चर्चा समेत पाएका थिए। 
पहिलो घटना हो, रानीबारी हत्याकाण्ड।

इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको हत्या भएको त्यो प्रकरण १२ बर्षपछि अनुसन्धानले पूर्णता पायो। चार वर्षीया छोरीलाई घाइते बनाई हत्याराले बाथरुममा थुनेका थिए, तर उनी बाँच्न सफल भइन्।

घटना काठमाडौंको रानीबारीस्थित डेरामा भएको थियो, जहाँ श्रेष्ठ परिवार भाडामा बस्दै आएको थियो।

हत्या अत्यन्त क्रूर ढंगले गरिएको थियो। हत्याराहरूले धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या गरेका थिए।

हत्यापछि अपराध स्थलमा केही सुराक छाडिएका थिए, जसलाई प्रहरीले अनुसन्धानका लागि महत्त्वपूर्ण ठानेको थियो।

अनुसन्धानको सुरुवाती चरणमा प्रहरीलाई अपराधी पत्ता लगाउन कठिन भएको थियो। घटनास्थलमा सुराक त थिए तर पर्याप्त प्रमाण नभएका कारण अनुसन्धान लामो समयसम्म अड्किएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानमा नयाँ प्रविधि र रणनीति प्रयोग गरेको थियो। १२ वर्षपछि प्रहरीले मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा उनीहरू ‘कन्ट्राक्ट किलर’ भएको पत्ता लाग्यो। अपराधको उद्देश्य घरबेटीलाई निशाना बनाउनु थियो, तर गल्तीले डेरावालको हत्या गरेको पछि उनीहरूको बयानले खुलायो।

हत्याका लागि गुरुङ र चौहानलाई रकम दिने व्यक्ति एक पुरानो शत्रु भएको खुलेको थियो, जसले घरबेटीसँग बदला लिन खोजेका थिए।
अपराधीहरूले आफ्नो संलग्नता स्वीकार गरेका थिए। अदालतले उनीहरूलाई दोषी ठहर गरी थुनामा पठायो। 

यो घटनाले नेपाल प्रहरीको अनुसन्धान पद्धतिमा ठूलो प्रभाव पारेको छ। विशेष गरी लामो समयसम्म पनि अनुसन्धानलाई जारी राख्नुपर्ने प्रतिबद्धताको महत्त्व देखाएको थियो। 

यस घटनाको सफल समाधानका लागि संलग्न प्रहरी अधिकारीहरूलाई सम्मानित गरिएको थियो।

तत्कालिन सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीलाई ३० हजार रुपैयाँ, डीएसपी भीमबहादुर दहाललाई २५ हजार रुपैयाँ र प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई २२ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो।

यस्तै अनुसन्धानमा सकस परेको र पछि अचम्मित बनाउने निचोड निस्किएको प्रकरण हो, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या प्रकरण।

न्यायाधीश बमले गरेको फैसला चित्त नबुझेपछि तत्कालिन चुरे भावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाले हत्या गरेका थिए। 

दुई वर्ष सात महिना लामो अनुसन्धानपछि प्रहरीले घटनाका मुख्य योजनाकार भनिएका बाबु थापासहितसहित चार जना पक्राउ गरेको थियो।

मेघबहादुर थापा सक्कली नाम गरेका बाबु थापा मुख्य योजनाकार भएको जानकारी दिइएको थियो। 

प्रहरी अनुसन्धानका अनुसार चुरेभावर राष्ट्रिय पार्टीको विवाद नै न्यायाधीश बमको हत्याको कारक बन्न पुगेको थियो।

चुरेभावर पार्टीमा अध्यक्ष केशव मैनाली र उपाध्यक्ष थापावीचको विवाद सुरुमा निर्वाचन आयोगमा पुगेको थियो। सुरुमा सहमति गरेर मैनालीलाई नै अध्यक्ष बनाए पनि छुट्टै–छुट्टै महाधिवेशन गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको थियो।

आयोगले मैनालीको साटो मेघराज थापा भन्ने बाबु थापाको समूहलाई वैधानिकता दिएको थियो। त्यसविरुद्ध मैनाली सर्वोच्च अदालतमा गएका थिए।

सर्वोच्चमा न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई बैधानिकता दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो।

सीआईबीका तत्कालिन प्रमुख डीआईजी मेहन्त मल्ल ठकुरीले ‘गृहराज्यमन्त्री हुनै लागेको बेला फैसलाले आफ्नो राजनीति तीन वर्ष सकियो भन्ने भएपछि थापाले हत्याको योजना बनाएको देखिन्छ’ भनेका थिए।

अदालतको फैसलालाई आफूलाई तीन वर्षसम्म दुःख दिएकाले हत्या योजना बनाएको उनले बयान दिएका थिए।

त्यसका लागि बाबुले आफ्नो नाम ‘अमर नेपाल’ राखेर नेपाल जनता स्वतन्त्र स्वाभिमान पार्टी बनाए। २०६७ असोजमा अहरण तथा शरीर बन्धक मुद्धामा जलेश्वर जेलमा बस्दा बाबुको करण चौधरीसँग चिनजान भएको थियो। करण छुटेपछि उनले काठमाडौं ल्याएर राखे।

बाबुले करण र भगवान भन्ने सञ्जय स्माइली मगरसँग मिलेर न्यायाधीश रणबहादुर बमको हत्या योजना बनाए। प्रहरीका अनुसार करण व्यवसयिक सुटर थिए।

योजना अनुसार बाबुको समूहले चार थान पेस्तोल र मोटरसाइकल जम्मा पारेको थियो। घटना भएको दिन २०६९ जेठ १८ गते १० बजेतिर बाबु, करण, सञ्जयसँगै प्रेमराज खड्का र दिपक कर्ण कोटेश्वरमा जम्मा भएका थिए।

उनीहरु मध्ये प्रेमराज बाहेक सबैले पेस्तोल बोकेका थिए। तीनवटा मोटरसाइकलमा रहेका उनीहरु मध्ये भगवान र शिव ललितपुरको युएन पार्कतर्फ आए भने बाबु एउटा तथ प्रेम र दिपक अर्को मोटरसाइकलमा न्यायाधीश बमको घर भएको स्थलतर्फ लागे।

प्रहरीका अनुसन्धान अनुसार ट्याङ्लाफाँटा कलंकी क्षेत्रबाट बम चढेको गाडीलाई अघि–पछि गर्दै पछ्याउँदै आएको बाबुको समूहले बंगलामुखी मन्दिरमा नै न्यायाधीशको हत्या गर्ने योजना बनाएको थियो।

धेरै घाइते हुने र भाग्न पनि कठिन हुने देखिपछि बाबुले योजना बदले र साथीहरुलाई त्यही बस्न भनेका थिए। 

न्यायाधीश मन्दिरबाट बाहिर निस्किएपछि बाबुको समूह अघि–पछि गर्दै मोटरसाइकलमा आएको थियो। यूएन पार्क छेउ आएपछि बाबुले ओभरटेक गरेर न्यायाधीश बमको गाडी रोकेका थिए।

न्यायाधीशका सुरक्षाकर्मीमाथि करणले पहिलो फायर गरे। लगत्तै भगवानले गाडीको पछिल्लो सिटमा बसिरहेका न्यायाधीश बममाथि गोली हाने।

सुरक्षाकर्मी घाइते भएपछि दुबैले बममाथि गोली हाने। बमलाई हानेको गोली सँगै गाडीमा रहेका राम गिरीलाई पनि लाग्यो। घटनाका योजनाकार बाबुले त्यो सबै हेरिरहे।

न्यायाधीशको हत्यापछि उनीहरु बाग्मती किनारको बाटो सहयोगीनगर पुगे, जहाँ रातो रंगको मोटरसाइकल छाडेर काँडाघारीस्थित बाबुको घरमा पुगेको प्रहरी अनुसन्धानले देखाएको थियो। हाल बाबु सहितका हत्याका अपराधी थुनामा रहेका छन्। 

प्रहरीका अनुसार घटना हुँदा बिहान ११ बजेर २ मिनेट गएको थियो। ६ वटा गोली लागेका न्यायाधीश बमलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो, तर उनको बाटैमा निधन भइसकेको थियो।

घटनामा प्रयोग भएको बा४३प ७२०८ नम्बरको मोटरसाइकल चोरीको थियो, जुन प्रहरीले सहयोगीनगरबाट बरामद गरेको थियो।

यसबाहेक अनुसन्धानमा कठिन भएको र पत्याउन नै सकस भएको अर्को प्रकरण हो, तीनकुने हत्याकाण्ड।

 तीनकुने सामूहिक हत्या प्रकरणमा बोल्न नसक्ने सञ्जय भण्डारी मुख्य अपराधी रहेको प्रहरीले निक्कै सकसपूर्ण हिसाबले पत्ता लगायो। यति मात्र होइन अनुसन्धानका क्रममा उनका विभिन्न प्रकारका बयानले यसलाई अन्तिम निचोड दिन प्रहरीलाई सकस मात्र भएन, विभिन्न ठाउँमा भएका अमूर्त हत्या प्रकरणतिर पनि सोझिन बाध्य बनायो।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भई काठमाडौंको काँडाघारी बस्दै आएका २३ वर्षिय भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। आरोपी भण्डारीले चारैजनाको हत्या गरेको स्वीकार गरेका छन्।

गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको थियो। टाउको र शरीरका विभिन्न भागमा खुकुरीले प्रहार गरिएको थियो। 

सोही काष्ठ मिलमा गेट पालेको काम गर्ने दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र धनकुटा स्थायी घर भएका १९ वर्षका नविन राईको हत्या भएको थियो।

प्रहरीले आरोपी भण्डारी बोल्न नसक्ने हुँदा दोभासेको सहयोगमा बयान लिएको थियो। भण्डारीले हत्या गरेको भोलीपल्ट सोही खुकुरी बोकेर बहिरा स्कुलमा पुगेर सामान्य व्यवाहार देखाएको पनि अनुसन्धानका क्रममा खुलेको थियो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयले कुकुरको सहायतामा भण्डारीलाई पक्राउ गरेको थियो। उनलाई सिन्धुपाल्चोक भाग्न लागेका बेला बसपार्कमा पक्राउ गरी कारबाही बढाइएको थियो। उनलाई पनि अदालतले दोषी ठहर गरेको छ।
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्