रवि लामिछानेसहित ५ जनाको अदालतमा बयान सुरु, यो सकेपछि थुनछेक बहस अनि के हुन्छ?
काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा लागेका रास्वपा सभापति रवि लामिछानेसहित ५ जनासँग बयान सुरु भएको छ।
उनीहरूलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालतमा बयानका लागि लगिएको हो।
बयान सकेपछि थुनछेक बहस सुरु हुन्छ। बयान सक्न २ दिन जति लाग्ने बताइएको छ। त्यसपछि थुनछेक बहस हुन्छ।
थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन्।
सामान्यतयाः तीन वर्षभन्दा बढी कैद सजाय मागदावी भएका मुद्दामा आरोपितहरूका बारेमा भरपर्दो प्रमाण छ भने अदालतले पूर्पक्षका लागि थुनामा पठाउने प्रचलन रहेको छ।
अदालतले बयान र थुनछेक बहसपछि तीन मध्य एक विकल्पको निर्णय प्रमाणको सान्दर्भिकताका आधारमा लिनेछ। त्यसपछि मूल मुद्दाको सुनुवाई र बहस पैरवी हुनेछ।