हुम्लाका कतिपय स्थानमा नेपाल टेलिकमको बीटीएस टावरमा क्षति, सेवा अवरुद्ध
काठमाण्डौ- कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरुमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको टेलिकमले जनाएको छ । टेलिकमले यो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेको र सो कार्यप्रति दुःख व्यक्त गरेको छ ।
सर्केगाड गाउँपालिका–०५ स्थित बरै माइक्रो वीटीएसमा पुस ४ गते सोलार प्यानल, भिस्याटका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनीे क्षमाप्रार्थी रहेको जनाएको छ ।
सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न/नगराउन समेत नेपाल टेलिकम सबैमा आग्रह गरेको छ ।