Nic Ad Nic Ad
Nic Ad Nic Ad

तरकारी खेतीले तङग्रिँदै कुशाहाका दलित समुदाय

मंगलबार, पुस ९, २०८१

राजविराज - सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी खेतीबाट परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानी पनि गर्दै आएका छन् ।

‘आजभोलि तरकारी टिप्ने, बजारसम्म लैजाने र बिक्री गर्ने कामका निकै व्यस्त हुन्छु । परिवारका सबै जना यही काममा लागिपरेका छौँ’, खेतमा गोलभेँडा गोडमेल गर्दै गरेका पबितारले भने, ‘वर्षको तीन यामसम्म तरकारी लाउने गरेको छु । यसबाट वार्षिक रु एक–डेढ लाख आम्दानी हुने गरेको छ ।’ उनले आफ्नो स्वामित्वमा रहेको दुई कठ्ठा तथा लिजमा लिएर चार कठ्ठा जमिनमा तरकारी खेती गरिरहेको बताए ।

पबितारले यस वर्ष मात्र दुई क्विन्टल काउलीबाट मात्र रु ६० हजार आम्दानी गरे भने अहिले खेतमा गोलभेँडा लगाएका छन् । उनी जस्तै सोही ठाउँका चलितर पासवानले पनि तरकारी खेती गरेर नियमित आम्दानी गर्दै आएका छन् । तरकारी खेतीको आम्दानीबाट आफ्नो १२ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए । गोलभेँडा, काउली, झिङ्नी, बोडीलगायत तरकारी लगाउने गरेको उनले जानकारी दिए ।

पबितार, चलितर जस्तै यस गाउँका अधिकांश विपन्न दलित परिवारको तरकारी खेतीबाट जीवतस्तर उकासिएको छ । उनीहरूले ‘बिर्धना कृषिक समूह’ गठन गरेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय निकायबाट संस्थागत रूपमा उनीहरूले सहयोग लिने गरेका छन् । उक्त कृषि समूहमा अहिले १६ जना सदस्य छन् ।

यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्ने काम सबल नेपालले गरेको हो । किसानलाई खेतीसम्बन्धी तालिम, उपयुक्त बीउबिजन, नयाँ कृषि प्राविधिक सामग्री, मल्चिङ प्रविधि सहयोग गर्दै आएको कार्यक्रमका सुपरभाइजर अशोककुमार साहले बताए ।

उनले नगरपालिकासँग समन्वय गरेर आफूहरूले कृषि, शिक्षा, बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिए । किसानले गरेको तरकारी खेतीको प्रभावकारिता, समस्या, चुनौती तथा समाधानका उपायको पनि संस्थाले पहिचान गर्ने गरेको जनाइएको छ । तरकारी खेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको भन्दै नगरपालिकाका कृषि शाखा प्रमुख रोशन चौधरीले आगामी दिनमा संस्थाले कार्यक्रम छाडेको अवस्थामा पनि नगरपालिकाले किसानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्