सहकारीको रकम अपचलन प्रकरण : छविको सहयोगीका खातामा भेटियो ३ करोड
काठमाडौँ- सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा कास्की जिल्ला अदालतमा उपस्थित भएर पूर्वडिआइजी छविलाल जोशी आज बयान दिइरहेका छन् ।
सहकारीको रकम अपचलन गरेर गोरखा मडिया नेटवर्कमा लगानी गरेको अभियोग समेत खेपेका छविलाल जोशीले अहिलेसम्म अभियोग अस्वीकार गर्दै आएका छन् ।
तर प्रहरीको हाकिम हुँदा आफैँले काममा लगाएका एकजना प्रहरी (पूर्वअसई) रामबहादुर खनालसँगको उनको निकटता र खनालको खातामा भेटिएको मोटो रकम भने झस्काउने खाले देखिएको छ ।
छविलालले असईबाट राजीनामा गर्न लगाएपछि आफ्नै क्यासिनोमा जागिर दिएका खनालको बैँक खातामा ३ करोड रुपैयाँ भन्दा बढी रकम जम्मा भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
कास्की जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमै खनालको नाममा झण्डै १० वर्षको अवधिमा ३ करोढ ४६ लाख २ हजार २४० रुपैँया जम्मा भएको स्टेटमेण्ट नै पेश भएको छ ।
र यो रकम छविलालको सिमरास्थित एक क्यासिनोमा पहिला सुरक्षा गार्ड र पछि मार्केटिङ अफिसरका रुपमा काम गर्दा र छविलालले जिवी राईसँग साझेदारी थालेको अविधिबीचमा जम्मा भएको रकम हो ।
छविलालले प्रहरीमा हुन्जेल पनि असई खनाललाई आफैँसँग लिएर हिड्ने गरेकामा आफुले अवकाश पाएपछि खनाललाई पनि राजीनामा गर्न लगाएर क्यासिनोमा जागिर दिएका थिए ।
सुरुमा मासिक ४० हजार रुपैयाँमा सिमराको होटल इच्छामा संचालित स्माइल कलेक्सन प्रालि नामको क्यासिनोमा उनी मासिक ४० हजार तलवमा सुरक्षाकर्मीका रुपमा काम गर्न थाले । यो २०७५ असारमा जागिर छाड्ने बित्तिकैको घटना हो ।
त्यसपछि हालसम्म उनी छविलालकै नजिक बसेर काम गरिरहेका थिए । यतिसम्मकी छविलालले उनलाई नेचर हब्र्स इन्टरनेशनल लिमिटेडको १० लाख रुपैयाँ बरावरको शेयर समेत किनाएका थिए ।
तिनै खनालको नेपाल इन्भेष्टमेण्ट बैँकमा रहेको खातामा सन् २०१४ देखि २०२४ सम्मको अवधिमा ३ करोड रुपैयाँ भन्दा बढी रकम डिपोजिट भएको भेटिएको हो ।अदालतमा पेश भएको अभियोगपत्रमा उल्लेख भएको खनालको बयानमा पनि यो तथ्य स्वीकार गरिएको छ ।
तर खनालले यो रकम भने क्यासिनामो खेल्न आउने भारतीयलाई लगानी गर्नेहरुले आफ्नो खातामा रकम जम्मा गर्ने गरेको, चितवनका व्यापारीहरुले जम्मा गरिदिएको रकमसमेत भएको दाबी गरेका छन् ।