Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिलनले प्रहरीमा गरे आत्मसमर्पण: लोकसेवामा फेल भएको डिप्रेशनमा बाबु र भाइको हत्या

मंगलबार, पुस ९, २०८१

काठमाडौ - भक्तपुरको बालकोटमा मृत भेटिएका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविणको जेठा छोरा मिलनलबाटै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । मिलनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

मंगलबार बिहान आफैं प्रहरीमा उपस्थित भएका मिलनले अभियोग स्वीकार गरेका छन्। पारिवारिक तनावका कारण आफुले हत्या गरेको उनले साबिती छ । ‘म पनि धेरै पटक लोक सेवाको परीक्षामा फेल भएँ, बुबा पनि डिप्रेसनमा हुुनुहुन्थ्यो,’ सोधपुछमा आबद्ध एक प्रहरीले उनलाई उद्धृत गर्दै भने,‘पारिवारिक तनावकै कारण म यस्तो निर्णयमा पुगे ।’ हत्यापछि आफुले पनि आत्महत्या गर्ने योजना बनाएको तर असफल भएको उनले प्रहरीमा बताएका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार मिलनले आफैंले हत्या गरेको स्वीकार गरेका छन्। तर, त्यसमा विस्तृत अनुसन्धान हुने उनको भनाई छ । ‘पारिवारिक तनावका कारण हत्या गरेको उनले बताएका छन्, त्यसमा थप अनुसन्धान सुरु भएको छ,’ उनले भने।


प्रारम्भिक अनुसन्धानमा सुतिरहेकै अवस्थामा उनले हत्या गरेको देखिन्छ । हत्यापछि राति नै उनी घरबाट निस्किएका थिए।  

खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य हुलाक कार्यालय दिक्तेलका निमित्त कार्यालय प्रमुख हुन्। कार्यालयकै कामले ५ दिनअघि काठमाडौं आएका उनी छोराहरूको डेरामा बसेका थिए। शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अन्यले बताएका छन्।

शनिबार बिहानदेखि कोठाबाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार खोल्दा दुईजनाको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार छोराको शव किचनमा र बुबाको अर्काे कोठामा भेटिएको हो। किचनको सिलौटोमा कपाल र रगत छ। हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका प्रहरीको छ।    जेठा छोरा मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोकसेवा आयोगको तयारीमा थिए भने कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए। नायब सुब्बा तहमा कार्यरत कुलप्रसादले छोराहरूलाई पढाउन भक्तपुरमा राखेका थिए। 

मृतकहरुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्