Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिरहाका किसानलाई गहुँखेती गर्न रासायनिक मल अभाव

मंगलबार, पुस ९, २०८१

सिरहा- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाएका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले गत मङ्सिरमा तीन चरणमा रासायनिक मल वितरण गरेको थियो। सरकारले उपलब्ध गराउँदै आएको सहुलियतको उक्त मल यादवले भने पाउन सकेनन् ।

यादवले धान थन्क्याएलगत्तै करिब पाँच कट्ठा जग्गामा गहुँ छर्ने तयारी गरेका थिए। गहुँ बालीका लागि खेत जोतेर तयार पारिसक्दासमेत उनले युरिया र डिएपी मल किन्न पाएनन् । सोमबार पनि उनी मल लिन लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय पुगे। ‘खेती लगाउने समय घर्किसक्यो, कतैबाट पनि मल किन्न पाइएन । यहाँ त पाइन्छ कि भनेर आएको हुँ’, कृषक यादवले भने, ‘तर यहाँबाट पनि मल पाउन सम्भव भएन।’

कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई प्रत्यक्ष रुपमा मल दिन नमिल्ने र यसका लागि रासायनिक मल वितरण गर्ने सहकारी धाउनुपर्ने यादवले बताए । उनी रित्तै घर फर्किए । अनुदानको मल माारमा समेत मल अभावले किन्न नपाएको यादवको गुनासो छ ।

यादवको जस्तै सिरहाका १७ वटै पालिकाका अधिकांश किसानले मल पाउन सकेका छैनन् । कतिपयले मल अभावका कारण गहुँ छर्न पाएका छैनन्। कतिपयले उम्रिएको गहुँमा मल छर्न सहकारी तथा अन्यत्र भौँतारिरहेका भेटिन्छन्। तर मल सहजै पाइँदैन। भेटिए पनि चर्को मूल्य तिर्नुपर्छ। स्थानीय तहको सिफारिसअनुसार सहकारीमार्फत पाउनुपर्ने मल पनि किसानले पाउन सकेका छैनन्।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार