Nic Ad Nic Ad
Nic Ad Nic Ad

माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

मंगलबार, पुस ९, २०८१

काठमाडौँ - नेपालमा सञ्चालनमा रहेका जलविद्युत् गृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएका संरचनाहरूको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मंगलबार बेलुका ७ः४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको आयोजनाले जनाएको छ ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्राउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्‍याएको थियो । पहिरोमा परी दुईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुई जना सैनिकले ज्यान समेत गुमाएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्