Nic Ad Nic Ad
Nic Ad Nic Ad

सूर्यदर्शन सहकारी ठगमा सबै दलका नेताहरुको संलग्नता,को-को बने प्रतिवादी ?

बुधबार, पुस १०, २०८१

काठमाडौ -  ठुला राजनितिक दलहरु सहकारी ठगी धन्दामा प्रत्यक्ष संलग्न रहेको पाइएको छ । देश विकास र सुशासनका कार्यमा सिन्को नभाच्ने नेताहरु सहकारी ठगीमा बाडीचुडी खान एकढिक्क भएका छन् ।

यसको ज्वलन्त उदाहरण हो सुर्यदर्शन सहकारी । जहाँ नेपाली कांग्रेस,एमाले, माओवादी केन्द्र र रास्वपाका शिर्ष नेताहरु मिलेर सहकारीलाई टाट पल्टाए । जनताले खाई नखाई जम्मा गरेको बचतमा शिर्ष दलका नेताहरुको मोजमस्ती छ । 

पोखरास्थित सूर्यदर्शन सहकारी बचत अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछानेमाथि सरकारद्वारा राजनीतिक प्रतिशोध साँधिएको आरोप लागिरहेको छ। तर यो मुद्दा रास्वपा मात्र नभएर एमाले, माओवादी केन्द्र र कांग्रेसका नेताहरू समेत संलग्न रहेको पाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको अपचलन प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। ती प्रतिवादीहरूमध्ये कम्तीमा आधा दर्जनभन्दा बढी राजनीतिक दलका परिचित अनुहार रहेका छन्। 

रवि लामिछाने, सभापति रास्वपा

प्रहरीको छानबिनले सहकारीबाट रविले ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको निष्कर्ष निकालेको छ । रविले बचतकर्तालाई हानि(नोक्सानी र आफू तथा कम्पनीलाई फाइदा हुनेगरी सहकारीको बचतकर्ताको रकम उक्त सहकारीका अध्यक्ष जीबी राई समेतसँग मिलेमतो गरी सहकारीको ऐन, नियम, विनियमविपरीतको कार्य गरेको ठहर छ ।

व्यक्तिगत ऋण एक करोड, स्वीट सेयरका लागि ७५ लाख र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खातामा गएको रकमको सञ्चालकको हैसियतले १ करोड ६२ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको आरोप रविमाथि छ ।

देवकुमार नेपाली, मेयर एमाले
बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपालीलाई बचतकर्तालाई विभिन्न प्रलोभन देखाई निजी व्यवसाय र घरजग्गामा लगानी गरी बचत रकमसमेत हिनामिना गरेको आरोप छ । उनले अपराध गर्दा हिसाबकिताबमा बराबर बनाउन नसकेपछि देवकुमारले सूर्यदर्शन सहकारी छोडी इमेज बचत तथा ऋण सहकारी संस्था खोली आफैं अध्यक्ष भई सञ्चालक समितिमा आफू अनुकूल व्यक्ति राखेका थिए ।

तिनै व्यक्तिलाई प्रलोभनमा पारी देवकुमारले घरजग्गा खरिद गरेको आरोप छ । ठगी गर्ने उद्देश्यबाट प्रेरित भई समान धारणा र संलग्नतासहित सहकारी संस्था स्थापना गरी कर्मचारी र सञ्चालकहरूको मिलेमतोमा उक्त कार्य गरेको देखिन्छ ।

मीना गुरुङ, पूर्वसांसद एमाले
गण्डकी प्रदेशसभाकी पूर्वसांसद मीना गुरुङ २०६५ देखि २०६८ सम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य थिइन् । उनी रहेको समितिले दुई पटक गरी ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

समितिको कार्यकालमा सहकारी सञ्चालनको मूल्य मान्यताविपरीत बचतकर्ताको हितविपरीत व्यक्तिगत लाभका लागि बचत रकम गरी सो ऋण रकम असुलउपर समेत नगरी हिनामिना गरेको ठहर छ ।

शिवबहादुर गुरुङ, युवा संघ, नेता
नेकपा एमाले समर्थित युवा संघ नेपालका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङले सूर्यदर्शन सहकारीबाट १७ करोड ८ लाख ५ हजार २४९ रुपैयाँ दायित्व बहन गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा देखिएको छ । उनले सूर्यदर्शन सहकारीमा २०७३ देखि २०७८ सम्म सञ्चालक समितिको सदस्यको रुपमा काम गरेका थिए ।

सोही समयमा उनले सहकारीबाट पैसा लगी विभिन्न ठाउँमा घरजग्गा खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । उनले जीबी राईसँग मिलेर सहकारीको पैसाले जग्गा किनी घर बनाई बिक्री गरेका थिए ।

दीपेश पुन, नेता, माओवादी केन्द्र
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश माओवादीका युवा नेता तथा अखिल क्रान्तिकारीका महासचिव हुन् । उनले भूपेन्द्र राई तथा जीबी राईसँगको मिलेमतोमा सङ्गठित रूपमा परिचालन गर्न समूह बनाई सहकारीमा सङ्कलन भएको बचत रकम हिनामिना गरेको देखिएको छ ।

उनले सहकारी ऐन नियमविपरीत एक करोड १० लाख ७१ हजार १०३ रुपैयाँ व्यक्तिगत रूपमा अपचलन गरेको र एक करोड ३ लाख ३७ हजार ७३९ रुपैयाँ सहकारीबाट स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारीमा ट्रान्सफर गरेको प्रहरी प्रतिवेदनले देखाएको छ ।

कैलाश दर्लामी, वडाध्यक्ष, माओवादी केन्द्र
रामेछापको लिखु तामाकोशी गाउँपालिका( ७ का वडाध्यक्ष कैलाशकुमार दर्लामी माओवादीका युवा नेता पनि हुन् । उनले पदको दुरुपयोग गरी जीबी राईको कम्पनीमार्फत सहकारीको बचत रकम अपचलन गरी रकमान्तर गरी आफूले समेत आर्थिक लाभ लिएको भेटिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

उनले २०७८ सालमा सहकारीको उपाध्यक्ष पदबाट राजीनामा दिएको भनिए तापनि त्यसपछिका बैठकमा पनि सहभागी भएको देखिन्छ । प्रतिवेदनका अनुसार उनले उक्त अपराधबाट बच्न कीर्ते राजीनामा(पत्रसमेत अनुसन्धानको क्रममा पेस गरेको अभियोग छ । दर्लामी जीबी राईको सङ्गठित समूहमा रही सहकारी संस्थाको बचत रकम अपचलन गरी विभिन्न कम्पनीसमेत सञ्चालन गरेको देखिएको अभियोगमा उल्लेख गरिएको छ ।

विशाल तामाङ, कांग्रेस नेता, सिन्धुली
सूर्यदर्शन सहकारी मुद्दामा १७ नम्बरका प्रतिवादी सिन्धुलीका विशाल तामाङ नेपाली कांग्रेसका नेता हुन् । रुपन्देहीबाट प्रतिनिधिसभामा पुगेका कांग्रेस नेता अब्दुल रज्जाक खानेपानी राज्यमन्त्री हुँदा उनी पार्टीको सिफारिसमा निजी सचिव रहेका थिए । कांग्रेस रुपन्देहीका पूर्वसभापति रज्जाक हाल लुम्बिनी प्रदेश सांसद छन् ।

नेपाली कांग्रेस सिन्धुलीका नेता विशाल तामाङविरुद्ध जीबी राईको संगठित समूहमा रहेर सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । उनले सहकारीको रकम अपचलन गरी कम्पनीको शेयर लिएको, घरजग्गामा लगानी गरेको र जीबी राईको व्यक्तिगत खातामा रकम जम्मा गर्ने गरेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सूर्यदर्शनसहित सानोपाइला सहकारी सञ्चालनमा ल्याई सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा अवैध रुपमा २७ लाख ६८ हजार ३३३ र २ करोड ६० लाख ५७ हजार रुपैयाँ जीबी ग्रुप अफ कम्पनीज प्रालिमा लगेका थिए ।

ज्ञानबहादुर बम्जन,नेता, कांग्रेस
ओखलढुंगा घर भई पछिल्लो समय सिन्धुलीमा बसाइ सरेका ज्ञानबहादुर बम्जन नेपाली कांग्रेसका जिल्लास्तरका नेता हुन् । गोर्खा विकास बैंकसहित धेरै वटा वित्तीय संस्थाको बचत अपचलन गरेर अमेरिका भागेका डीबी बम्जनका एकाघरका सदस्यहरु सबै सहकारी ठगीमा संगठित रुपमा लागेको संसदीय छानबिन समितिले ठहर गरेको छ ।

उनै डीबीका भाइ ज्ञानबहादुर बम्जन सूर्यदर्शन सहकारीको पनि अध्यक्ष भएर बचत अपचलनमा संलग्न रहेकाले मुद्दा दायर भएको छ । बम्जन परिवारकै ठगीमा संलग्न ज्ञानबहादुरकी भाञ्जी संगीता नेपाली कांग्रेसको सहकारी विभाग सदस्य हुन् भने दिदी हेमकुमारी बम्जन कांग्रेसबाट अघिल्लोपटक ओखलढुंगाको मोलुङ गाउँपालिका उपाध्यक्ष थिइन् ।

बम्जन परिवार कांग्रेसको राजनीतिमा संलग्न रहे पनि हेमकुमारी र संगीताबाहेक अरुले पार्टीको माथिल्लो पद भने लिएका थिएनन् । सहकारी छानबिन समितिले दोषी ठहर गरेकी संगीतालाई कांग्रेसको कोटाबाट राष्ट्रिय सहकारी विकास बोर्ड सदस्यमा समेत नियुक्ति दिइएको छ ।

ज्ञानबहादुरको ठगी जालो
गोरखा सेभिङ एन्ड क्रेडिट को(अपरेटिभमा बजार प्रमुख हुँदै निर्देशक भइसकेका डीबी बम्जनका साइँला भाइ ज्ञानबहादुर तामाङ बम्जनले संस्थापक अध्यक्ष भई ललितपुरमा उपकार सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ स्थापना गरेका थिए । यो संस्थामा २०६० मा केदारनाथ शर्मा उपाध्यक्ष बनेका थिए

चाबहिलमा रहेको कुमारी सेभिङ एन्ड क्रेडिट को(अपरेटिभका संस्थापक अध्यक्ष पनि ज्ञानबहादुर तामाङ नै हुन् । उनीपछि श्रीमती पुष्पाकुमारी हुँदै सहपाठी सूर्यध्वज न्यौपानेलाई अध्यक्ष बनाए । हाल उक्त संस्थामा ईश्वर किराँत राई अध्यक्ष छन् । न्यौपानेविरुद्ध पनि मुद्दा दर्ता भइसकेको छ ।

भक्तपुरमा हिमाल सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ पनि ज्ञानबहादुरले नै खोलेका हुन् । संस्थापक अध्यक्ष रहेका ज्ञानबहादुरले ‘डमी’ का रूपमा उपकार सहकारीका कर्मचारी विज्ञान राईलाई अध्यक्ष बनाएका थिए ।

बज्रयोगिनी सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ पनि ज्ञानबहादुरकै स्कुलका सहपाठी सूर्यध्वजलाई नै अध्यक्ष बनाएर स्थापना गरियो । ताम्राकार कम्प्लेक्स न्युरोडमा सहकारीको कार्यालय थियो ।

ज्ञानबहादुरकी भाञ्जी संगीता तामाङ गोरखा विकास बैंकको मानव संसाधन ९एचआर०, प्रशासन र खरिद विभागमा काम गर्थिन् । उनैमार्फत धनबहादुर लालीगुराँस सहकारीको अध्यक्ष बनेका थिए ।

युनाइटेड गोरखा सेभिङ एन्ड क्रेडिट को(अपरेटिभमा पनि डीबीकी भाञ्जी संगीता नै अध्यक्ष छिन् । ज्ञानबहादुरले उपकार सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ छोडेपछि भाञ्जी संगीताका बुवा नरेन्द्र बललाई अध्यक्ष बनाएका थिए ।

स्वर्णलक्ष्मी सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ पनि यो समूहले कब्जा गरेको थियो । ज्ञानबहादुरको टीमले हिमाल सेभिङ भक्तपुरकी कर्मचारी कल्पना श्रेष्ठलाई ल्याएर अध्यक्ष बनाएको थियो । कल्पनालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ ।

बालुवाटारमा ज्ञानबहादुरकै योजनामा मुकुल सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ स्थापना भएको थियो । यसको अध्यक्ष प्रतिमा गिरीलाई बनाइएको थियो ।

देवदर्शन सेभिङ एन्ड क्रेडिट को(अपरेटिभ चन्द्रागिरीमा स्थापना गरिएको थियो । यो संस्थाको अध्यक्ष सावित्री तामाङ र उपाध्यक्ष पुष्पाकुमारी तामाङ थिए । सावित्री डीबी बम्जनका भतिजा ईश्वरराज बम्जनकी श्रीमती र पुष्पाकुमारी ज्ञानबहादुरकी श्रीमती हुन् ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्