चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोडको आयात
काठमाडौँ- काठमाडौँ चोभारस्थित सुक्खा बन्दरगाहबाट ४७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने शून्य रहेको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार मंसिरसम्म ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको थियो । जसमध्ये चोभार सुक्खा बन्दरगाहबाट भएको आयात हिस्सा ०.०७ प्रतिशत हो ।
हालै सरकारले यो बन्दरगाहमा चिनियाँ नाकाबाट समेत सामान ल्याउन पाउने गरी खुला गरेको छ । यससँगै यो बन्दरगाहमा चहलपहल बढ्ने देखिएको छ ।
विभागका अनुसार २८ भन्दा बढी भन्सार बिन्दुबाट वैदेशिक व्यापार भएको छ । यसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट भएको छ । यस भन्सार बिन्दुबाट २ खर्ब १८ अर्ब रुपैयाँ बराबर वस्तु आयात भएको छ । जुन कुल आयातको ३३ प्रतिशत हो ।
यस भन्सार बिन्दुबाट १९ अर्ब २५ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको २६.१५ प्रतिशत हो ।