एमालेले भिम रावललाई हटायो, बिन्दा र उषाको जिम्मेवारी खोस्यो
काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी खोसेको छ ।
उनीहरू दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रीय कमिटीबाट ६ महिनाका लागि निलम्बित गरिएको हो ।
बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ।
‘पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई हामीले स्पष्टीकरण सोधेका थियौँ’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार बसेको सचिवालय बैठकपछि भने, ‘तर उहाँहरूले गल्ती स्वीकारेको देखिएन । पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गरिएको छ ।’
भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए । सार्वजनिक रुपमा गरेको विरोधैका कारण उनीहरूलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको हो ।
बुधाबरको बैठकमा दुई नेतृको एक-एक तह घटुवा गर्ने प्रस्ताव आएको थियो । तर, अन्तिममा जिम्मेवारीबाट निलम्बन गरिएको हो ।
यसअघि गत कात्तिक ४ गते बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालय निर्माणका लागि प्राप्त भएको दाने जग्गाका विषयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
उक्त सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि दुवै नेतृले स्पष्टीकरण बुझाएका थिए । त्यसमै चित्त नबुझेको भन्दै दुवैलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको हो ।