Nic Ad Nic Ad
Nic Ad Nic Ad

पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयोः उषाकिरण तिमल्सेना

बुधबार, पुस १०, २०८१

काठमाडौ - नेकपा एमालेले ६ महिना निलम्बनमा परेकी उषा तिमल्सेनाले पार्टी नेतृत्वविरुद्ध कडा टिप्पणी गरेकी छन् ।

नेतृ तिमल्सेनाले आफूविरुद्धको कारबाहीप्रति टिप्पणी गर्दै ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी छन् ।

बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावललाई पार्टीबाट निष्कासन गर्नुका साथै स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउनु निर्णय गरेको छ ।

पार्टीले कारबाही गर्दा नुवाकोटमा पार्टी काममा व्यस्त रहेको उल्लेख गर्दै तिमल्सेनाले बुधबार साँझ सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन् ।

‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तरगत शिवपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो, उक्त कार्यक्रम सकेर भर्खर घर आईपुगेको छु’ उनले लेखेकी छन्, ‘तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ ।’

पार्टी नेतृत्वविरुद्ध कटाक्ष गर्दै उनले अगाडि लेखेकी छन्, ‘यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’


केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएपछि तिमल्सेनासहितका नेताहरूलाई गत ४ कात्तिकमा एमालेले स्पष्टीकरण सोधेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्