Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा विमानस्थलको ऋणले प्राधिकरणको ढाड भाँच्चियो, अन्तर्राष्ट्रिय उडान सुरु गर्न दबाब

बिहीबार, पुस ११, २०८१

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अधिकारीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको ठूलो ऋण तिर्दा आर्थिक संकट झेल्नुपरेको बताएका छन्।

प्राधिकरणले नियमित अन्तर्राष्ट्रिय उडान सुरु नगरेसम्म समस्या समाधान नहुने बताएको छ ।

प्राधिकरणका कर्पोरेट डाइरेक्टर हंशराज पाण्डेले पोखरा विमानस्थलको ऋण तिर्दा लगानी सकिएको बताए।'प्राधिकरणसँग लगानी छैन। पैसा कहाँ गयो त भन्दा पोखरा विमानस्थलको ऋण तिर्नमा गयो,' उनले भने, 'यो ऋण तिर्दा प्राधिकरणको ढाड भाँचिएको अवस्था छ। हामीले नआत्तिइकन दुई, तीन किस्ता तिरिसक्यौं। तर यहाँबाट अन्तर्राष्ट्रिय उडान हुनैपर्छ। 

यहाँ अन्तर्राष्ट्रिय उडान गर्न निजी क्षेत्र र गण्डकी सरकारले सघाउनुपर्ने उनले बताए। निजी क्षेत्रले चार्टर्ड अन्तर्राष्ट्रिय उडान भर्न सक्ने उनको भनाइ छ।

बिहीबार नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), पोखराले आयोजना गरेको पोखरा विमानस्थल उडान सम्बन्धी छलफलमा प्राधिकरणका अधिकारीहरूले उडानको नेतृत्वदायी भूमिका निजी क्षेत्रले लिनुपर्ने बताएका हुन्।

नाट्टा पोखराका अध्यक्ष किशोर दाहालले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान अपरिहार्य भएकाले प्राधिकरण र व्यवसायीबीच छलफल राखेको बताए।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार चीनको एक्जिम बैंकसँग २४ करोड ४० लाख ४० हजार अमेरिकी डलर ऋण लिएर विमानस्थल बनाइएको थियो। हाल वार्षिक दुई अर्ब रूपैयाँ किस्ता वापत तिर्नुपरिरहेको छ। चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आएका बेला २०७८ चैत १२ गते चीनले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

पोखराका व्यवसायीहरूले विमानस्थल सञ्चालन नहुँदा लगानी डुबेको गुनासो राखेका थिए।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्