फाउन्डेशनको लफडाः तीन बर्षअघि नै विवादमा तानिएकी अभिनेत्री श्वेता खड्काको कहानी के थियो?
काठमाडौं– चर्चित व्यक्ति र सेलिब्रिटीले फाउन्डेशनमार्फत समाज सेवा गरेको प्रचार गर्छन्। हाल विभिन्न मुद्दामा बहसका क्रममा रहेका रवि लामिछानेको फाउन्डेशन ‘आरएलएफ’ (रवि लामिछाने फाउन्डेशन)को समेत हिसाब किताबको खोजी हुनुपर्छ भनी अदालतमा मुद्दा दर्ता भएको अवस्था छ।
खैर, लामिछानेबारे अदालतले काम गर्ला। तर, धुर्मुस सुन्तली फाउन्डेशनका नाममा क्रिकेट रंगशाला पनि कम विवादमा थिएन।
यसैगरी अभिनेत्री श्वेता खड्काको पनि माझी बस्ती बनाउनेगरी फाउन्डेशनले काम गरेको थियो। बस्ती बनाएको घोषणा पनि भयो। तर त्यो विवादहिन रहेन।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको नमूना माझी बस्ती निर्माणको विषयमा अभिनेत्री श्वेता खड्का तीन बर्ष अघि नै विवादमा तानिएकी थिइन्।
श्वेताश्री फाउन्डेशन अन्तर्गत नमूना माझी बस्ती निर्माण गरिएको प्रयोजित प्रचार गलत रहेको स्थानीयले बताएका थिए। उक्त बस्ती निर्माणका लागि सरकारी अनुदान र बस्तीबासीले चार लाखको किस्ता तिर्नुपरेको तथ्य सतहमा आएको थियो।
निर्माण पूरा नभइसकेको अवस्थामा बस्तीका स्थानीयवासीले भनेका थिए,‘हामी आफैंले बनाएका हौं, किस्ता पनि तिरिरहेका छौं।’ विवरणअनुसार अभिनेत्री खड्काको फाउन्डेशनले बस्तीको नक्शा बनाउने र बाटो मात्र देखाएको स्थानीयवासीले जिकीर गरेका थिए।
‘बस्तीबासीका तर्फबाट चार लाख रुपैंयाको किस्ता श्वेताश्री फाउन्डेशनमार्फत तिर्ने वाचा गरिएको थियो। अहिलेसम्म एक रुपैंया पनि तिरिएको छैन। किस्ता आफैं तिरिरहेका छौं’, स्थानीयवासी चन्द्रमाया माझीले भनेकी थिइन्,‘सरकार र हामी आफैंले बनाएका हौं।’
अर्का स्थानीयवासी मानबहादुर माझीका अनुसार ऋण तिरिदिन्छु भन्नेले केही नगरेका कारण चित्त दुखेको छ। उनी भन्छन्,‘यो हाम्रो ऋण के गरी तिर्नु?’
यता समाज सेवाको भारी उठाउँदा आर्थिक संकटका कारण काम पूरा गर्न कठिन हुने विवरण खड्काले सामाजिक सञ्जालमा राखेकी थिइन्। विवाह बन्धनमा बाँधिदा भड्किलो बिहे गरेको तर माझी बस्तीको जिम्मेवारी पूरा नगरेको भनी अभिनेत्री खड्काको आलोचना भएपछि विवाद सतहमा आएको थियो।
कतिपयले माझी बस्ती निर्माणका लागि गरेको सहयोग कहाँ खर्च भयो? भनेर समेत प्रश्न गरेका थिए।
फाउन्डेशन विवादमा तानिएका कारण अहिले यसबारे चर्चा चलेका छन्।
कमजोर वर्गका व्यक्तिहरूलाई सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, र समाजका विविध पक्षमा सुधार ल्याउने फाउन्डेशनको काममा पर्छ। तर के हुँदैछ भन्ने श्वेताश्री फाउन्डेशनले जानकारी दिएको छैन।
फाउन्डेशनको काममा छात्रवृत्ति प्रदान गर्ने, विद्यालय निर्माण गर्ने, वा अन्य शैक्षिक अवसरहरू सिर्जना गर्ने, स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने, र स्वास्थ्य अभियान सञ्चालन गर्ने, विपद् व्यवस्थापन, राहत कार्यक्रम, र पुनस्र्थापना कार्य समेत हुन्छन्।
सामाजिक समस्याहरू समाधान गर्न अनुसन्धान तथा नवीन कार्यक्रम सञ्चालन गर्ने, आर्थिक क्रियाकलाप र कार्यक्रमहरूको प्रगति सार्वजनिक रूपमा प्रस्तुत गर्ने हुन्छ। तर, यसमा पनि संकोच रहेको कतिपयको बुझाई छ, आरबीएफलाई मुद्दा परेका कारण।
स्मरणीय छ, रवि लामिछानेको समर्थनका निम्ति श्वेता पनि चितवन पुगेकी थिइन्।
फाउन्डेशनका उद्देश्यअनुसार स्रोतसाधनको प्रयोग गर्ने र दाताहरूको विश्वास कायम गर्ने, लाभको भाग लाभार्थीसमक्ष दिने, देशका कानून, नियम, र निर्देशनहरूको पालना गर्ने हुन्छ।
यस विषयमा श्वेता खड्काले खासै नबोलेका कारण आध्यावधिक विवरणचाहिँ आइसकेका छैनन्।