अस्ट्रेलियन युवा खेलाडीसँग किन जुधे विराट कोहली ?
काठमाडौं- भारत र अस्ट्रेलियाबीचको चौथो टेस्ट बिहीबारदेखि मेलबर्नमा सुरू भएको छ । ५ खेलको श्रृंखला १-१ को बराबरीमा रहेको अवस्थामा यो खेल श्रृंखलाको महत्वपूर्ण खेलका रूपमा समेत छ ।
अस्ट्रेलियाले यस खेलका लागि नयाँ युवा ब्याटरलाई मौका दिएको थियो । १९ वर्षीय युवा ब्याटर साम कोन्सटासले डेब्यू गर्दै अर्धशतक समेत बनाए । पहिलो खेलमा ६५ बलमा ६० रन बनाएर आउट भएका उनले भारतीय बलरसामू निडर शटहरू खेलेका थिए जसले अस्ट्रेलियालाई शानदार सुरूवात दिलाउन मद्दत गर्यो ।
तर खेलका दौरान भारतीय खेलाडी विराट कोहली र सामका बीचमा भएको एउटा विवादले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । सामसँग कोहली काँध जुधाएको भिडियोमा देखिएको छ ।
१०औं ओभर सकिएपछि साम कोन्सटास पिचको साइडबाट हिँडिरहँदा विराट कोहली उनी हिँडिरहेको बाटोमा आएर उनीसँग काँध जुधाएको जस्तो देखिन्छ । त्यसको जवाफमा सामले कोहलीलाई केही भन्छन् र कोहलीले पनि जवाफ फर्काउँछन् । अम्पायर र खेलाडीहरू आएर दुवैलाई शान्त पार्छन् । यसमा म्याच रेफ्रीको पनि नजर अवश्य परेको छ ।
यसलाई लिएर भारतीय पूर्वखेलाडी र प्रशिक्षक तथा कमेन्टेटर रवि शास्त्रीले यो अनावश्यक भएको टिप्पणी गरेका थिए । अस्ट्रेलियाका पूर्वखेलाडी रिकी पोन्टिङले पनि कोहलीले नियतवश यो गरेको टिप्पणी गरेका छन् ।
यस विवादको विषयलाई आइसीसीले निरीक्षण गरेर केही कारवाही गर्न सक्ने बुझिएको छ । दुवै खेलाडीलाई केही डिमेरिट पोइन्टसँगै म्याच फीमा पनि कटौति हुन सक्नेछ ।
साम कोन्सटास अस्ट्रेलियाका लागि डेब्यू खेलमा अर्धशतक प्रहार गर्ने दोस्रो कान्छा खेलाडी बनेका छन् । उनले ६ चौका र २ छक्कासहित ६० रन बनाएका थिए । उनले भारतका स्टार बलर जसप्रित बुमराहलाई एकै ओभरमा १८ रन प्रहार गरेका थिए ।
जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अस्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ६ विकेट गुमाएर ३०० रन बनाएको छ ।