Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलमा मैदानबाहिर युवक कुटिएको खुलेन, प्रहरी अनुसन्धान के भन्छ?

बिहीबार, पुस ११, २०८१

काठमाडौँ - त्रिवि क्रिकेट मैदान बाहिर आक्रमणमा परेको भनिएका युवक अमनकुमार सिंहमाथि कुटपिट नभएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर नश्लीय र साम्प्रदायिक व्यवहार गर्दै अमनमाथि कुटपिट भएको भनेर सामाजिक सञ्जालमा विरोध भएको थियो ।

भिडले कुटपिट र लछारपछार गर्दा अमनको दुवै हात भाँचिएको भनेर मधेसी आयोगमा उजुरी परेपछि आयोगले छानबिन गर्न भनेको छ । तर, प्रारम्भिक छानबिन गर्दा अमन कुमार सिंंह खेल सकिनुअघि नै अस्पतालमा भर्ना भएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।

अस्पतालको रेकर्ड अनुसार शनिबार २ बजेर १२ मिनेटमा उनी ट्रमा सेन्टरमा भर्ना भएको देखिएको छ । त्यसबेला फाइनल खेल सकिएको थिएन । सर्लाहीको बलरा घर भएका अमन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

अमनको काका नाता पर्ने उमेश सिंहले भतिजाले आफूमाथि कुटपिट भएको बताउने गरेको जानकारी दिए । उमेशले भने, ‘उसले कसैले हिर्काएपछि लडेँ, त्यसपछि के भयो मलाई थाहा छैन भनेको छ ।’

क्रिकेट मैदान बाहिर हुलदङ्गा भएको र त्यहाँ अमन घाइते भएको परिवारको जिकिर छ । तर, अमन लडेर घाइते भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

फाइनल खेल सकिएपछि हुलदंगा गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका घर भएका २१ वर्षीय अशोक साउद र दिपायल सिलगढी नगरपालिका घर भएका १८ वर्षीय गणेश साउद छन् ।

उनीहरूले जनकपुर बोल्ट्सका समर्थकहरूलाई नश्लीय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्