Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसको एक सय दिने विशेष अभियानको समयावधि थप

बिहीबार, पुस ११, २०८१

काठमाडौं- नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयावधि थप गरेको छ ।

यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते समापन गर्ने गरी समयावधि थप गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियानका तोकिएका कार्य सम्पादन हुन नसकेको उल्लेख गर्दै समयावधि थप गरिएको हो ।

ती जिल्लाहरूले सहिद दिवसका दिन  माघ १६ मा समापन गर्ने गरी समयावधि थप गरिएको हो । जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा सांगठनिक रूपले गर्न-गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन कांग्रेसले निर्देश गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकको निर्णय बमोजिम साङ्गठनिक गतिविधि प्रभावकारी बनाउन गत असोज ७ गते प्रारम्भ भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्